कुश्माको सताब्दी घरमा दर्जनौं साहित्यकारको जमघट,गुन्जिए साहित्यिक रचना!

207

पर्वत- पर्वतको कुश्मा स्थित सताब्दी घरमा दर्जनौं कविको जमघटमा साहित्यक रचना वाचन गरिएको छ । यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को २०० औं श्रृंखलाका अवसरमा शताब्दी घरमा सनिबार साहित्यिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोखराबाट आएका दुई दर्जन बढी कवि, लेखक, पत्रकार र पर्वतका साहित्यकारहरू सहभागीतामा रचना वाचन गरिएको कालीगण्डकी बचाऔँ अभियान एवम् कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदीप्त गिरीले जानकारी दिनुभयो । शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षरयात्राको द्विशतक श्रृंखला गरिएको थियो ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ़ सम्बन्ध रहेको भन्दै आँफु तीन वर्षको हुँदा आमाको  दाहसंस्कार कालीगण्डकी नदीमा गरेको कुराको स्मरण गर्नुभयो । श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन पनि गर्नुभएको थियो । कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नु पर्ने विचार श्रेष्ठको थियो । ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो’ उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आफुले जीवनमा तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाउनुभयो ।

संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सीरहेका छौँ । त्यही हामीले भुल्दै, बिर्सिंदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्न स्वरुप आफूले कुश्मा कला परियोजनाको परिकल्पना गरिएको गिरिले बताउनुभयो । विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष गिरीले शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिरहेको बताउनुभयो ।

८५ वर्षिय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाइरहेका थिए भनें प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी लेखक गनेश पौडेल र सन्जीव पौडेल  एन पी घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण बिश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर रचना वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here