24.1 C
Kathmandu
Thursday, April 16, 2026

बझाङ घटना: घर भत्काएर जातीय विभेद गर्नेलाई कारबाहीको माग गर्दै पर्वतका दलित संगठनहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पर्वत- बझाङ जिल्लाको बिथडचिर गाउँपालिका वडा नम्बर ७ स्यालढुङ्गामा भएको जातीय विभेदवको घटनाप्रति बिरोध गर्दै पर्वतका दलित संगठनहरुले दोषीलाई कारबाहीको माग गरेका छन् ।
दलित साझा मंच पर्वतको संयोजनमा दोषीलाई कडा कारबाहीको माग गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाइएको हो ।
दलित साझा मञ्च पर्वतका संयोजक याम विश्वकर्माको नेतृत्वमा नेपाल दलित संघ पर्वत,नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वत,नेपाल दलित मुक्ति मोर्चा,नेपाल दलित मुक्ति संगठन पर्वत,नेपाल दलित स्वतन्त्र मंच पर्वत,दलित पत्रकार मंच पर्वत र दलित संजाल कुश्मा नगरपालिकाले संयुक्त रुपमा ज्ञापनपत्र पठाएका हुन ।
बिथडचिर-७,स्यालढुङ्गा स्थित पुड्के ओखेडाले आफ्नो जमिनमा घर निर्माण गर्दै गरेको अबस्थामा यहीँ श्रावण १० गते सोही गाउँ निवासी गैरदलित व्यक्तिहरुले बन्दै गरेको घर भत्काइदिनुका साथै बालिनाली समेत नष्ट गरेका थिए ।
ज्ञापनपत्रमा भनिएको छ “सुदुरपश्चिम प्रदेश, बझाङ जिल्ला, बिथडचिर गाउँपालिका वडा नम्बर ७ स्यालढुङ्गा स्थित पुड्के ओखेडाले आफ्नो जमिनमा घर निर्माण गर्दै गरेको अबस्थामा मिति २०८० श्रावण १० गते बुधबारका दिन ‘सोही गाउँ निवासी कृष्ण जोशी, भवानी जोशी, कित्थे जोशी अगायत ४० जना भन्दा बढी गाउँलेहरु मिलेर सानो जातिको मान्छे आफ्नो घरगाउँ नजिकै आएर बस्न लागेको भन्दै निर्माणधिन घर भत्काउनुको साथै ओखेडा परिवारलाई कुटपिट गरेको घटना’को घोर निन्दा र भत्सर्ना गर्दछौं ।”
पिडित ओखेडाले २५ बर्ष अंघी खरिद गरी लालपुर्जा समेत आफ्नै नाममा रहेको जग्गामा बनाउँदै गरेको घर भत्काउने, कुटपिट गर्ने, बालीनाली नस्ट गर्नुका साथै ज्यानै लिन्छौ भन्ने सम्मको धम्कीपुर्ण गालीगलौज गर्ने यस अमानवीय घटनाले दलित भनिने समुदायले भोग्नुपरेको आततित पिडा र कथित गैरदलित भनिनेहरुले प्रस्तुत गर्ने व्यावहारको एक उदाहरण प्रस्तुत गरेको छ ।
व्यक्तिगत रुपमा ओखेडा परिवारले समुदायलाई नै हानी हुने कार्य गरेको वा अन्य समस्या भए कानुनी प्रक्रियाबाट समाधान गर्ने सुविधा हुँदाहुँदै पाशविक शैलीमा हुलहुज्जत गर्दै घर भत्काउनु र कुटपिट गर्ने कार्यले कानुनको नै खिल्ली उडाएको छ । अर्को तर्फ संविधानमा जातीय विभेद अन्त्य भएको भनिएपनि बेलाबेला हुने यसप्रकारका घटनाले नेपाली समाजलाई थप क्रूप र पछाडि धकेलेको छ । जातीय छुवाछूत जस्तो डरलाग्दो र घिनलाग्दो अपराध व्यावहारीक रुपमै अन्त्य गर्नका लागी नेपाल सरकारको गम्भीरताका साथ ध्यानाकर्षण गराउँदछौँ ।
पुनः यो घटनाको निन्दा र भत्सर्ना गर्दै घटनामा संलग्न पिडकलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं । साथै पीडित परिवारलाई क्षतिपूर्ति र बाँकी दिनमा समेत समुदायमा निर्वाद रुपमा जिउने वातावरण होस् भनी नेपाल सरकार समक्ष जोड्दार माग गर्दछौं ।”
उक्त घटनाको बिरोध गर्दै दलित संघसंगठन, अगुवा तथा सामाजिक अभियान्तहरुले दोषीलाई कारबाही गर्न माग गर्दै उक्त घटनाको बिरोध गरेका छन् ।

ताजा

Related Articles