27.1 C
Kathmandu
Saturday, July 27, 2024

रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना

काठमाण्डौ – खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ । वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको हो ।

वडा कार्यालयको पहलमा ४८ प्रकारका कृषि उपज खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेर कृषिजन्य सामग्री सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनकुमार गुरुङले बताउनुभयो । तोकिएको मूल्यसूची अनुसार सङ्कलन केन्द्रले कृषि उपज खरिद गर्ने र बिक्री गर्ने तथा बढी भएको कृषि उपज अन्यत्र लगेर बिक्रीका लागि वडा कार्यालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कृषिजन्य सामग्री सङ्कलन केन्द्रमा वर्षमा एक लाखभन्दा धेरैको कृषि उपज बिक्री गर्ने किसानको तथ्यांक सङ्कलन गरेर पुरस्कृत गर्ने तयारी छ । कृषि सङ्कलन केन्द्रबाट स्थानीयस्तरमा उत्पादित कृषिवस्तुलाई बिक्रीका लागि टाढाका बजारमा लैजानुपर्ने बाध्यतालाई ध्यानमा राखेर गाउँमै बिक्री गर्ने वातावरण बनाउने र किसानको समयको बचत पनि हुनेछ ।

गाउँपालिकामा चिस्यान केन्द्र बन्दै गरेको अवस्थामा वडामा खपत नभएका कृषि उपजलाई त्यहि चिस्यान केन्द्रसम्म लैजाने लक्ष्य राखिएको छ । कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापनाले वडामा उत्पादित कृषि उपजले उचित मूल्य पाउने आशा पलाएको स्थानीय कृषक विक्रम घिमिरेले बताउनुभयो । वडा कार्यालयमा गएको भदौ ५ गते गरिएको भेलाले कृषि उपजको खरिद गर्ने र बिक्री गर्ने मूल्य निर्धारण गरेको थियो ।

ताजा

Related Articles