पर्वत-नेकपा एमालेले संचालन गरेको समृद्धिका लागि संकल्प यात्राको अवसरमा यहि मंसिर २१ गते कुश्माबजारको बान्दे्रबिडि चौरमा विशाल जनसभा आयोजना गरिएको छ । एमाले पर्वतले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जनसभाको तयारीका बारेमा जानकारी दिएको हो । १४ गते वैतडीको झुलाघाटदेखि पाँचथरको किवाभन्ज्याङसम्मको मध्यपहाडी लोकमार्गको यात्रामा निस्किएको अध्यक्ष ओली नेतृत्वको टोली २१ गते पर्वत आईपुग्ने भएको छ । सोहि संकल्प यात्राको स्वागत तथा विदाईका लागि पर्वतमा विशाल जनसभा आयोजना गरिएको हो । जनसभालाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपीशर्मा ओली लगायत केन्द्रीय स्तरका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले पवर्तको व्यवस्थापनमा हुने जनसभाको तयारी तीब्र पारिएको छ । २१ गते पर्वत र बागलुङको सिमाना मालढुंगामा संकल्प यात्राको टोलीलाई स्वागत गरिने भएको छ भने दिउँसो १ बजेदेखि साँझसम्म आमसभा सम्पन्न गरी साँझ कास्की र पर्वतको सिमाना नयाँपुलमा पुगेर विदाई गरिने भएको छ ।
आमसभालाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । अध्यक्ष राजु पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति, उपसचिब शिव पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन, उपसचिब बिमल लामिछानेको संयोजकत्वमा प्रचारप्रसार, मिनप्रसाद श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन, स्वस्थानी रिजालको संयोजकत्वमा स्वागत द्धार निर्माण, मदन गुरुङको नेतृत्वमा स्वयंसेवक परिचालन उपसमिति, हर्कमान गुरुङ र राजेन्द्र श्रेष्ठको नेतृत्वमा यातायात व्यवस्थापन उपसमिति, बिष्णुप्रसाद नेवारको संयोजकत्वमा झाकी तथा बजागाजा व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।
उक्त दिन कुश्माबजारमा सातवटै पालिकावाट गरी १८ हजार भन्दा बढि जनसहभागिता जुटाउने तयारी भएको छ । जसका लागि शुक्रवार सातवटै पालिका कमिटिको वैठक, शनिवार ६१ वटै वडा कमिटिको वैठक र आईतवार जनवर्गिय संगठनहरुको भेला आयोजना गरिएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रको समृद्धि, सामाजिक सद्भाव र राष्ट्रिय एकता, कम्युनिष्ट पार्टी स्थापनाको ७५ औ वर्षगाँठको उत्सव, नागरिकमा देखिएको निराशाको अन्त्यका लागि तीन साता लामो झुलाघाट(चिवाभञ्ज्याङ यात्रा शुरु भएको हो । समृद्धिको यो यात्रालाई सफल बनाउनका लागि बृहद आमसभामा सहभागि हुन आफ्नो दलमात्र नभई समग्र पर्वतवासीहरुमा पनि अनुरोध गरिएको छ ।
आमसभाका लागि रु १० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । उक्त रकम कतैवाट पनि सहयोग नलिईकन पार्टी कार्यकर्ताहरुवाटै अभियान संचालन गरेर रकम जुटाईने आर्थिक व्यवस्थापन संयोजक शिव पौडेलले जानकारी दिनुभयो । उहाँले जिल्लाभर पार्टीका झण्डै १० हजार संगठित सदस्य रहेको र उनिहरुवाटै आमसभाका लागि रकम संकलन गरिने उहाँले बताउनुभयो ।
उक्त संकल्प यात्रा अन्तर्गत गण्डकी प्रदेशमा दुईवटा मात्र आमसभा हुने भएका छन् । पर्वत र लमजुङमा आमसभा आयोजना गरिएको हो । २१ गते आमसभा सम्पन्न गरिसकेपछि सोहि साँझ टोलीलाई बिदाई गरिने समेत आयोजकले जनाएको छ ।
जनसभालाई सम्वोधन गर्न एमाले अध्यक्ष केपी ओली २१ गते पर्वत आउँदै

