28.1 C
Kathmandu
Tuesday, July 16, 2024

कुश्मा नगरपालिकाको आयोजनामा पुस ११ र १२ गते दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पर्वत- जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल बसेको  खेल मैदानमा आयोजना गरिएकोमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गर्न लागिएको हो।

नगरपालिकाको शिक्षा शाखाका अधिकृत अर्जुन पौडेलका अनुसार प्रतियोगितामा छात्र-छात्रा भलिबल र कबड्डी, छात्र-छात्रातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, एक हजार पाँच सय मिटर र तीन हजार मिटर लम्बाइको दौड, रिले दौड, हाई जम्प, लङ जम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो, सटफुट, विभिन्न तौल समूहका कराँते र तेक्वान्दो खेलहरू हुने छन्।

खेलका अधिकांश ‘इभेन्ट’ पाङमा आयोजना हुने भए पनि कराँते, तेक्वान्दो र कबड्डी खेल भने कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सेमी कभर्ड हलमा पुस १० गतेदेखि नै सुरु गर्ने तयारी छ। प्रतियोगितामा सहभागी हुने खेल, विधा र खेलाडीहरूको नाम पुस नौ गते नै नगरपालिकाको शिक्षा शाखामा पेस गर्न भनिएको छ। चालु शैक्षिक सत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रूपमा अध्ययनरत साथै विद्यालयको इमिस रेकर्ड अनुसार १८ वर्ष भन्दा मुनिका छात्र-छात्राहरू प्रतियोगितामा सहभागी हुन पाउने छन्। पुस नौ गतेसम्म १८ गतेसम्म १८ वर्ष पूरा नभएका बिद्यार्थीहरु मात्रै सहभागी हुन पाउने नियम राखिएको छ।

मार्सल आर्टतर्फका तेक्वान्दो र कराँते बाहेकका अन्य प्रतियोगिताहरूमा यसअघि नै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका विद्यार्थीलाई खेलाउन नपाउने भनिएको छ। मापदण्ड विपरीतका खेलाडीको विविध पक्षको वैधतामाथि उजुरी गर्नु परेमा सम्बन्धित खेलमा भाग लिएर पदक प्राप्त गरेको समय समेत उल्लेख गरी ३० मिनेट भित्रमा दुई हजार पाँच सय रुपैयाँ तिरेर आयोजक समक्ष दाबी विरोध गर्न पाउने व्यवस्था गरिएको छ।

नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरूले नगद क्रमशः ५१ हजार एक सय ११, ३१ हजार एक सय ११, २१ हजार एक सय ११ र ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यसअघिको प्रथम राष्ट्रपति रनिङ शिल्डको ट्रफी सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले उचालेको थियो। जसमा कुश्माकै नमुना आवासीय माध्यमिक विद्यालय दोस्रो र कुश्माकै शिवालय माध्यमिक विद्यालय तेस्रो बनेका थिए। नारायणले १२ स्वर्ण, छ रजत र नौ कांस्य गरी २७ पदक,  नमुनाले सात स्वर्ण, चार रजत र तीन कांस्य गरी १४ पदक तथा शिवालयले छ स्वर्ण, १० रजत र छ कांस्य गरी २२ पदक जितेका थिए। गत वर्षको प्रतियोगिता फागुनको ७, ८ र ९ गते आयोजना गरिएको थियो।

गत वर्ष प्रथम राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने बेलामा रनिङ शिल्डमा तीनपटकसम्म लगातार पहिलो हुने विद्यालयलाई शिल्डको स्वामित्व सहित नगद पाँच लाख रुपैयाँ पुरस्कार दिने निर्णय भएको छ।

ताजा

Related Articles