27.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको कुश्मामा फागुन १५ देखि २६ गतेसम्म तेस्रो राष्ट्रिय मगर महोत्सव हुने

पर्वत-पर्वतको कुश्मा बजारमा यहीँ फागुन १५ गतेदेखि २६ गतेसम्म तेस्रो राष्ट्रिय मगर महोत्सव हुने भएको छ । कुश्मा स्थित सामाजिक कार्यमा क्रियाशिल पुन युवा क्लबको आयोजनामा ४२ औँ मगर एकता दिवसको अवसरमा उक्त महोत्सव हुने भएको हो । क्लबले आज पत्रकार सम्मेलन गरि महोत्सवमा हुने कार्यक्रमका गतिविधिबारे जानकारी गराएको छ । ‘कला, संस्कृतिको संवर्द्धनमा ऐक्यबद्धताः खेल, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्ण बहादुर पुनले जानकारी दिनुभयो । पर्वतको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने, उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याउने, खेलकुद, कला तथा संस्कृतिको विकासमा टेवा पुर्‍याउने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने र मगर समुदायको पुरानो संस्कृतिको संरक्षण तथा संवर्द्धनमा मद्दत गर्नुका साथै मगर संग्रहालयको स्थापना गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष पुनले बताउनुभयो । यस संस्करणको आकर्षणका रूपमा पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २ लाख २ हजार २ सय २२,दित्तिय पुरस्कार १ लाख १ हजार १ सय ११ र तृतीय पुरस्कार ५० हजार १ सय ११ साथमा ट्रफी,मेडल र प्रमाणपत्र रहेको खेल संयोजक होम पुनले बताउनुभयो । त्यस्तै खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, दित्तिय पुरस्कार ३३ हजार ३ सय ३३ रहेको छ । पालिका स्थानीय खुल्ला प्रौढ भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ७७ हजार ७ सय ७७, दित्तिय पुरस्कार ४४ हजार ४ सय ४४ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । करिब २ सय वटा व्यावसायिक स्टलहरू रहने महोत्सवमा करिब १ सय ५० वटा स्टलहरू बुकिङ भइसकेका आयोजक पुन क्लबले बताएको छ । महोत्सवको तेस्रो संस्करणमा करिब ७२ लाख रुपैयाँ आम्दानी हुँदा ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमितिहरू निर्माण गरिएका छन् । पुन क्लबको आयोजनामा यसअघि ३७ औँ मगर एकता दिवसको अवसरमा २०७५ सालमा, ३९ औँ दिवसमा २०७७ सालमा महोत्सवको आयोजना भएको थियो । महोत्सवलाई सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न आयोजकले अनुरोध गरेको छ ।

ताजा

Related Articles