समाजसेवी अपुन एच.केद्वारा पर्वतको भोक्सिङमा निर्मित लोहनी कुल मन्दिरको उद्घाटन

811

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा निर्माण गरिएको धनीराम लोहनी कुल मन्दिरको बाजागाजा र भजन कृतनसहित भव्य रुपमा उद्घाटन गरिएको छ ।
भोक्सिङ जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी तथा अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक अपुन एच.के. (भोटे) ले उक्त मन्दिरको बिहीबार उद्घाटन गर्नुभएको हो ।
कार्यक्रम बोल्दै अपुन एचकेले लोहनी दाजुभाइहरुको कुल पुजामा सहजताका लागि मन्दिर निर्माण गरिएको बताउनुभयो ।विभिन्न ठाउँमा रहनुभएका दाजुभाइहरुबिच आपसी भेटघाट, मेलमिलाप र आत्मीयताका लागि कुल मन्दिर निर्माण गरिएको र उक्त मन्दिर निर्माणमा सहयोग गरेको एचकेले बताउनुभयो । आफू हङकङमा रहेतापनि आफ्नो देश तथा गाउँमा आपतबिपत पर्दा र समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

देशभर तथा संसारभर छरिएर रहेका आफ्नो कास्यप गोत्रीय सन्तति धनीराम लोहनी परिवारको पुनर्मिलन तथा नियमित कुल पुजा गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको याम बहादुर आर्य लोहनीले जानकारी दिनुभयो ।
आफ्नो संस्कृति,रीतिरिवाज र परम्परालाई उजागर गर्दै गाउँले दाजुभाइहरुसँग गोत्रीय एकता,भेटघाट तथा आत्मीयता बढाउन जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै राम कुमार आहतले कोरोना महामारीका बेला अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक अपुन एच.के. (भोटे) ले १ करोड ५३ लाख सहयोग गर्नुभएको बताउनुभयो ।
गरिब असहाय,अनाथ तथा आपतबिपतमा सहयोग गर्दै आउनुभएको बताउदै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहनुभएको उहाँले बताउनुभयो । आफू विदेशमा भएतापनि देशको माया रहने बताउदै आफू जन्मे हुर्केको ठाउँमा निरन्तर रुपमा सहयोग गर्दै आइरहेको उहाँले बताउनुभयो ।
आफ्ना स्वर्गीय आमाबुबा बिष्णु आर्य लोहनी र हर्कबहादुर आर्य लोहनीको स्मृतिमा भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयलाई ५ लाखको अक्षयकोष स्थापनाका लागि प्रधानाध्यापक गोविन्द गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको छ । बिद्यालयमा अध्ययनरत गरिब असहाय र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले  उक्त अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।
कुल मन्दिर उद्घाटनका अवसरमा भोक्सिङ घर भई हाल कुश्मा, पोखरा, काठमाडौं, चितवन, बुटवल भैरहवा लगायत बसोबास गर्ने धनीराम आर्य लोहनीहरुको उपस्थिति रहेको थियोे ।

मन्दिर उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसाल, भोक्सिङका वडा अध्यक्ष दिपक गुरुङ, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा समाजसेवी अपुन एचकेलाई स्थानीयले सम्मान गरेका थिए ।
कुल मन्दिर निर्माण समितिका अध्यक्ष देबिलाल लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आशिष लोहनीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here