18.1 C
Kathmandu
Sunday, April 19, 2026

कोदोको गुभो मर्ने समस्याले फलेवासका कृषक चिन्तित

पर्वत-रैथाने अन्नबाली कोदोको गुभो मर्ने समस्या देखिएपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् । पसाउनै लागेको कोदोमा अचानक यस्तो समस्या आएपछि कृषकहरु चिन्तित भएका हुन् । फलेवास नगरपालिका वडा नं. ८ ठानामौला नेपानेका दल बहादुर सुनारले करिब ५  हल बारीमा रोपेको कोदोमा गुभो मर्ने समस्या देखिएको जानकारी दिनुभयो ।

बारी ठेक अधिया लिएर हजारौं खर्च गरेर खेती गरेको भएपनि कोदोमा गुभो मर्ने समस्याले अत्यन्त मर्कामा परेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो ” १० देखि १५ मुरी कोदो उत्पादन हुने बारीमा पोहोर २ मुरी १० पाथी मात्र कोदो फल्यो, अहिले पनि त्यस्तै समस्या हुनेभयो ।” कोदो खेती गर्न सबैभन्दा गाह्रो हुन्छ, सयौं खेताला लगाएर दुखका साथ कोदो रोपियो, अहिले गुभो मरेर कोदो सबै सोत्तर जस्तै भएको छ ।”अघिल्लो बर्ष पनि यस्तै समस्या देखिएर क्षति बेहोर्नुपरेको बताउदै अहिलेपनि यो समस्याले क्षति पुर्‍याउने चिन्ता व्यक्त गर्नुभयो ।

वडा कार्यालय र नगरपालिकाबाट समयमै यो समस्याको पहिचान र औषधि उपचार गरि क्षति हुनबाट जोगाइदिन उहाँले अपिल गर्नुभएको छ । त्यस ठाउँका अन्य कृषकहरुले रोपेको कोदोमा पनि गुभो मर्ने समस्या देखिएको छ । वडा अध्यक्ष मनबहादुर कुँवरले कोदो खेतीमा लागेको रोगको बारेमा बुझेर उपचार तथा राहतको व्यवस्था गर्ने बताउनुभयो । नगरपालिकाका कृषि अधिकृत केदार सपकोटाले कृषकको बारिमा पुगेर कोदोको गुभो मर्ने रोगको पहिचान गरेर औषधि उपचार गरि क्षतिबाट जोगाउन पहल गर्ने बताउनुभयो । नगर प्रमुख गंगाधर तिवारीले कृषि ज्ञान केन्द्र पर्वतको सहकार्यमा औषधि उपचारको प्रबन्ध मिलाउने र कृषकहरुको खेतीमा नोक्सान पुग्न नदिने बताउनुभयो । विभिन्न प्रकोपबाट क्षति भोगेका कृषकहरुलाई नगरपालिकाबाट राहत उपलब्ध गराइने उहाँको भनाई छ । यसैबीच गत हप्ता कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी,बिहादी र पैँयु गाउँपालिकाका विभिन्न वडाहरुमा धान र कोदोमा गुभो मर्ने रोग देखिएपछि कृषि ज्ञान केन्द्रका प्राबिधिकहरु स्थलगत अनुगमन गरि कृषकहरुलाई माटो र बीउ परिक्षण गरि खेती गर्न सुझाव दिएका थिए ।

ताजा

Related Articles