25.1 C
Kathmandu
Friday, April 17, 2026

वर्षौंपछि पर्वत अस्पतालमा खाने पानीको सुविधा

पर्वत – जिल्ला सदरमुकाम कुश्मामा रहेको पर्वत अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ । कुनैबेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य उपचारमा नै समस्या व्यहोर्नुपरेको अस्पतालले यतिखेर भने पानीको अभाव झेल्नु परेको छैन ।

अस्पतालको आफ्नै खानेपानी योजना सफल भएपछि अस्पताल हाताभित्र रहेको एक लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्की जतिबेलै भरिएको छ । करिब ५० लाख निर्माण लागतको खानेपानी योजनाको काम थालनी भएको करिव चार महिनामै आधा मात्रै बजेट करीव २५ लाख लगानीमा नै सम्पन्न गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष शंकर गिरीले बताए ।

अध्यक्ष गिरीका अनुसार गत चैत महिनाबाट काम सुरु गरी असारमा सम्पन्न भएको खानेपानी योजना केही समय परीक्षण कालमा रहे पनि अहिले भने पानीको प्रवाह नियमित रहेको छ । खानेपानी योजना सम्पन्न गर्नका लागि बजेटको व्यवस्था प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालको आन्तरिक स्रोतबाट भएको थियो । सम्भवतः गण्डकी प्रदेशमै पर्वत जिल्ला अस्पताल पहिलो होला जसले आफ्नै खानेपानीको योजना सफल बनाएर पानीको आपूर्ति समेत गरी सकेको छ ।

नियमित पानीको सुविधाकै कारण अस्पतालको सरसफाई सहित स्वास्थ्य सेवा समेत सहज बनेको छ । एकवर्ष अगाडिसम्म अस्पतालले ट्याङकरमार्फत् वार्षिक ५ देखि ६ लाख रकम सम्म पानी खरीदका लागि खर्चिनु पर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.हेमन्त बास्तोलाले बताए । पन्ध्र शैयाको जिल्ला अस्पतालले अहिले ५० शैया राखेर विरामीलाई स्वास्थ्य सेवा दिइरहेको छ ।

पानीको योजना सफल भएसँगै अस्पतालको दैनिक स्वास्थ्य सेवा समेत प्रभावकारी हुने विश्वास व्यक्त गर्दै डा.बास्तोला भन्नुहुन्छ, “अस्पतालमा सरसफाई महत्वपूर्ण हुन्छ । सरसफाइका लागि नभई नहुने पानीको अभावले अस्पतालमा रोगको संक्रमण फैलने खतरासँगै र स्वास्थ्य सेवा समेत प्रभावित रहेको अवस्था थियो । अहिले पानी आपूर्ति सहज हुँदा धेरै राम्रो छ । पानीको स्रोतका लागि पहल गर्ने अस्पताल सञ्चालक समितिको नेतृत्व, स्थानीय वडाका जनप्रतिनिधी सहित सरोकारवाला सवैको साथले नै योजना समयमा सफल भएको हो ।”

अस्पतालले गतवर्ष ५८ हजार ६ सय २६ जना विरामीलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा यस आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा स्वास्थ्य सेवा लिने विरामीको संख्या २० हजार ७४ रहेको छ । पानीको सुविधा राम्रो भएसँगै डायालाइसिस सेवा लिने विरामीका लागि समेत धेरै सुविधा भएको अस्पतालको भनाइ छ । अस्पतालमा डायालाइसिस गर्ने विरामीको संख्या अहिले २६ जना रहेको छ । डायालाइसिसका लागि चाहिने शुद्धपानी निकाल्ने रिआरओ प्लान्टका लागि मात्रै दैनिक ८ देखि १० हजार लिटरको आवश्यकता पुरा गरिएको छ ।

कालीगण्डकी किनाराभन्दा केही माथि गोपाङघाटमा रहेको पानीको मूलबाट निस्कने पानीलाई करीव ७ हजार लिटर बराबरको ट्याङकीमा संकलन गरिएको छ । संकलित पानी करीव ८ सय मिटर लम्वाइको पाइप मार्फत् मोटरले तानेर अस्पतालको ट्याङ्कीमा खसालिएको छ ।

अस्पतालले वर्षौं पहिलेदेखि पानीको स्रोत पाउनका लागि पटक पटक पहल गरेको भए पनि सफल हुन सकेको थिएन । केही वर्ष पहिले अस्पताललाई करीव ९० लाख बजेटको खानेपानीको योजना परेको भए पनि विविध कारणवश कार्यान्वयन नहुँदै बिचमै अलपत्र छाडिएको स्थानीयबासी बताउँछन् ।

ताजा

Related Articles