पर्वत- पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली आहले स्थित सामाजिक कार्यमा क्रियाशिल समावेशी युवा क्लबले बिद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ । सोही वडा स्थित महेन्द्र ज्योती माबिका ४२ जना र बौद्ध प्राबिका ३४ जना गरि ७६ जना विद्यार्थीलाई आइतबार स्विटर वितरण गरिएको हो ।
तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको क्लबका सल्लाहकार दिपेश बि पोख्रेलले जानकारी दिए । गाउँकै उद्योमीहरुले बुनेको कपडा खरिद गरि सामाजिक उत्तरदायित्व बहन गर्दै बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको उनले बताए । 
अघिल्लो बर्ष पनि दिउसिबाट संकलित रकमबाट क्लबले सामाजिक कार्य अन्तर्गत बिबाह वर्तबन्ध तथा अन्य भोजभतेरका लागि चुलो तथा भाडावर्तन सहयोग गरेको थियोे ।
गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भुसालले सामाजिक कार्यमा क्लबको सक्रियताप्रति प्रसंशा व्यक्त गरे । गाउँको विकासका लागि सबै युवाहरू एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए । गाउँपालिकाको विकास र समृद्धिका लागि आवश्यकता र औचित्यका आधारमा काम भइरहेको उनको भनाइ थियोे ।
बाल क्लब हुँदै युवा क्लब भएको समावेशी युवा क्लबले समाज परिवर्तन र रुपान्तरणमा उल्लेखनीय कार्य गरेको गाउँपालिका उपाध्यक्ष धनसुवा बिकले बताइन् । क्लबको सकारात्मक कार्यमा गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन ।
बौद्ध प्राबिमा भएको न्यानो कपडा वितरण कार्यक्रममा क्लबका अध्यक्ष सागर सुनारको अध्यक्षता, शिक्षक भोजराज नेपालीको स्वागत मन्तव्य र संचालन प्रअ सरस्वती उचै ठकुरीले गरेकी थिइन् ।

