19.1 C
Kathmandu
Tuesday, April 28, 2026

जलजलाको शान, बाँसखर्कमा सुन्तला बगान: सुन्तला महोत्सव मार्फत सरोकारवालालाई ध्यानाकर्षण

पर्वत-माघको महिना,पहारिलो दिन, उत्तरतर्फ हिमालको काखैमा सुन्दर गाउँ । गाउँमा स्वादिला सुन्तलाको ठूलो बगान नै छ । त्यो गाउँको नाम हो बाँसखर्क । सुन्तला गाउँले परिचीत पर्वतको जलजला गाउँपालिका वडा नं.१ बाँसखर्कमा यहीँ माघ ११ गते सुन्तला महोत्सव-२०८१ सम्पन्न भयो । सुन्तला गाउँमा जता जता फर्केर हेर्‍यो उतै लटरम्म पहेलपुर फलेका सुन्तला झुलिरहेका थिए । बोटले धान्न नसकेर सुन्तलालाई टेका लगाइको थियो । सुन्तला खरिद गर्न आएका व्यापारीहरुलाई सुन्तला टिप्न भ्याइनभ्याई थियो । महोत्सवका लागि त्यहाँ पुगेका कोही सुन्तला बगानमा आफ्नै हातले टिपेर सुन्तला खाइरहेका थिए भने उता महोत्सव स्थलमा मुसुमुसु हास्दै अतिथिहरुले सुन्तलाकै माला लगाइरहेका थिए । माहोल निकै रमाइलो थियो । तर यो रमाइलोकाबीच छुट्टै रहस्य जोडिएको छ । बाँसखर्क गाउँ मिठा सुन्तला उत्पादनमा अब्बल र उर्वर रहेको तर उत्पादनदित सुन्तला बजारीकरणका लागि सहज सडक नहुदा स्थानीयले ठुलो सास्ती खेप्नुपरेको छ । त्यहीँ बाटोको हविगत देखाउन र कृषकको समस्याका बारेमा ध्यानाकर्षण गराउन सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । स्थानीय सरकारको एकल प्रयासमा मोटरबाटो सहज गराउन नसकेको बताउदै संघ र प्रदेश सरकारसँग बजेट माग गरिएको उनले बताए । एकजना कृषकले सुन्तला बेचेर २ लाखदेखि ५० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुर्ख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।

बाँसखर्कको सुन्तला खेतीको सम्भावना उजागर र कृषकका समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले जलजला गाउँपालिका र वडा नं १ को कार्यालयले महोत्सव आयोजना गरेको वडा अध्यक्ष जगबहादुर रोकाले बताए ।

महोत्सवको अवसरमा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल र हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको थियो । अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तला नै उपहार दिएर बिदाइ गरिएको थियो । आमा समूहले सुन्तला खेतीसम्बन्धी भजन र गीत प्रस्तुत गरेका थिए । सुन्तला महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष आचार्यले बताए ।

महोत्सवमा सहभागी हुन आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्‌मा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरुपा शर्मा, प्रदेश सांसद भक्त कुँवर, रेखा गुरुङ, गण्डकी प्रदेशका प्रमुख सचिव राघुराम विष्ट र कृषि सचिव बासुदेव रेग्मीसँग सडक, सिँचाइ, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधिले ध्यानाकर्षण गराएका थिए ।

‘सिँचाइको समस्याले सुन्तला खेती विस्तार, पहिरोका कारण सुन्तला फार्मसहित बस्ती जोखिममा परेको र कच्ची सडकबाट बाँसखर्कको सुन्तला ढुवानी गर्दा थिच्चिएर नष्ट हुने समस्याबारे राज्यको माथिल्लो निकायमा रहेका पदाधिकारीलाई प्रत्यक्ष ल्याएर देखाएका छौँ,’ गाउँपालिकाका अध्यक्ष आचार्यले भने, ‘विद्युत्‌को समस्याले आठ वर्षअघि निर्माण भएको चिस्यानगृह सञ्चालन गर्न नसकिएको विषयमा पनि महोत्सवमा सहभागी हुन आएका अतिथिको ध्यानाकर्षण गराएका छौँ ।’

बेनीदेखि बाँसखर्क जोड्ने छोटो दूरीको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागे पनि आठ वर्षसम्म काम नभएको र योजना नै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । घरघरमा धारा निर्माण र मिटर जडान भए पनि खानेपानी वितरण हुन नसकेको समस्याबारे जानकारी गराए ।

मल्लाज सिँचाइ आयोजनामा नियमित पानी चलाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग समन्वय गर्नुपर्ने र बाँसखर्कको सुन्तला बगैँचामा सिँचाइ गर्न पाइपलाइनको व्यवस्था मिलाउन आग्रह गरे । मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाइ सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिबद्धता जनाए । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पाण्डेले बसाइँसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरी सडक, सिँचाइ र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताए ।

‘सुन्तला ढुवानीका लागि तपाईंहरूले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यस वर्ष पनि जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले ११ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।’ कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रवर्द्धनका लागि बाँसखर्कलगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सोमार्फत कृषकलाई विभिन्न शीर्षकमा अनुदान दिइने बताए । पर्यटनमन्त्री बस्यालले बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्य बनाउन पहल गर्ने प्रतिबद्धता जनाए ।
समुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटर उचाइमा फैलिएको दुई सय ३९ घर रहेको बाँसखर्कको धेरैले सुन्तला खेती गरेका छन् । एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको महोत्सवमा अगुवा कृषक मेखबहादुर खत्रीले जानकारी गराएका थिए ।बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ ।
बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् ।

 

 

ताजा

Related Articles