पर्वत-राधाचन्द्र स्मृति प्रतिष्ठान नेपाल पर्वतको आयोजनामा स्वर्गिय राधादेवी र चन्द्रबहादुर गुरुङको सत्रौँ स्मृति दिवस सम्पन्न भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अघि बढाउनुपर्ने बताए । आर्थिक समृद्धि नभएसम्म विकास निर्माणले मात्र जनताका चाहाना पुरा हुन नसक्ने बताउँदै नागरिकलाई खुसी र सुखि बनाउनका लागि आर्थिक रुपमा सबल हुनुपर्ने बताए । जवसम्म मुलुकमा आर्थिक समृद्धि हुँदैन तबसम्म युवा पुस्ताको पलायनदर रोक्न नसकिने बताए । मन्त्री गुरुङले संघीय सरकारले दिएको सिमीत श्रोत र साधनवाट प्रदेश सरकारले नागरिकका विकास र समृद्धिका चाहना पुरा गर्न नसकेको बताउँदै संघ सरकराले प्रदेश सरकारलाई पुर्ण अधिकार दिनुपर्नेमा जोड दिए ।
मन्त्री गुरुङले नेपालमा कुनै भविष्य छैन भन्ने भाष्य स्थापित भएका कारण पनि स्वदेशमा उद्यम व्यावसायमा लगानी गर्नेहरुको आकर्षण बढाउन नसकिएको बताए । स्कुले विद्यार्थी जीवनदेखिनै विदेशीने लक्ष लिने गरेको भन्दै युवा पुस्तालाई रोक्नका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम बनाउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा पुर्व सांसद लालकाजी गुरुङ, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, राप्रपाका केन्द्रीय सदस्य इच्छाबहादुर गुरुङ, नेपाली काँग्रेसका गण्डकी प्रदेश कार्यसम्पादन समिति सदस्य सिता काफ्ले लामछाने, गण्डकी प्रदेश सदस्य यामबहादुर मल्ल, नेपाली काँग्रेस पर्वतका उपसभापति डा. चुडामणी शर्मा, राधाचन्द्र स्मृति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक नबराज गुरुङ, नेकपा माओवादी केन्द्र कुश्मा नगरकमिटिका अध्यक्ष मिनराज केसी, कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्या, नेष्डो नेपालका कार्यकारी प्रमुख तथा नेपाली काँग्रेस पर्वतका पुर्व सचिब विश्वप्रकाश प्रसाई, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, पुर्व जिविस सभापति रामशर्मा पौडेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत प्रितम गुरुङ र संचालन सचिब उत्तम अधिकारीले गर्नुभएको थियो । सो अवसरमा स्वगित राधादेवी र चन्द्रबहादुरको जीवनीका बारेमा शंकर गुरुङ बोलेका थिए । कार्यक्रममा पत्रकार गणेश पौडेल र विष्णु गौतमलाई नगद सहित सम्मान गरिएको छ भने सामाजिक संस्थाको तर्फवाट नेष्डो नेपालका संस्थापक विश्वप्रकाश प्रसाई, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, र आनन्द गुम्वाका अध्यक्ष टेकबहादुर गुरुङलाई प्रंशसा पत्रले सम्मान गरिएको थियो । यसैगरी दुर्लुङ्गका एकल महिला, दलित तथा असहायलाई समेत आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

