19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत उद्योग बाणिज्य संघको ४९ औं स्थापना दिवसमा पत्रकार जिसीलाई सम्मान

पर्वत-पर्वत उद्योग बाणिज्य संघले आफ्नो ४९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा संघले यस वर्षदेखि सुरु गरेको क्रियाशिल पत्रकार पुरस्कार पर्वतका पत्रकार महेन्द्र जिसीलाई प्रदान गरिएको छ । संघको ४९ औ स्थापना दिवस र स्वर्ण जयन्ती शुभारम्भ समारोहमा सोमवार उक्त पुरस्कार प्रदान गरिएको हो । जिल्लामा पत्रकारिताको माध्यमवाट उद्योग, व्यावसाय, पर्यटन र समग्र आर्थिक विकासमा टेवा पुऱ्याउने क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने उद्धेश्यले यस वर्षदेखि पुरस्कार प्रदान गर्न थालिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले जानकारी दिए ।

शुरुवाती चरणमा पुरस्कारको राशी पाँच हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताए । पुरस्कारको राशी क्रमश बृद्धि गर्दै लगिने अध्यक्ष पौडेलको भनाई छ । यसले जिल्लामा रहेका पत्रकार तथा सञ्चारकर्मीहरुलाई थप सक्रिय भएर काम गर्न हौसला मिल्ने उनको विश्वास रहेको छ ।

स्वर्ण जयन्ती शुभारम्भ समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै विकले पर्वतको समग्र विकास र समृद्धिका लागि उद्योग बाणिज्य संघको महत्वपुर्ण भूमिका रहेको बताए । संघले साधारणसभाको अन्तिम तयारी गर्दैगर्दा जिल्ला प्रशासनवाट रोक लगाउने आदेश आउनु निन्दनिय विषय भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अर्जुन निर्जन पौडेल, माओवादी केन्द्रका नेता शंकर गिरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा, पर्वत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तब्य निवर्तमान अध्यक्ष गोपि अधिकारी र संचालन महासचिब खड्गप्रसाद खनालले गरेका थिए ।

स्वर्ण जयन्ती वर्षको अवसरमा जाउँ है पर्वत अभियान सहित जिल्लाका उद्योग, व्यावसाय, पर्यटन र आर्थिक समृद्धिका लागि विभिन्न गतिविधि संचालन गरिने भएको छ ।

कार्यक्रममा मैत्रीपुर्ण फुटवल प्रतियोगिताका बिजेता र उपबिजेतालाई पुरस्कृत तथा सम्मान गर्नुका साथै विभिन्न घटनाबाट पिडितहरुलाई राहत समेत वितरण गरिएको थियो ।

ताजा

Related Articles