19.1 C
Kathmandu
Friday, April 17, 2026

लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्न सरोकारवालाहरूबिच छलफल

पर्वत-पर्वत जिल्लालाई लागू औषध दुव्यर्सनीको कम असर भएको जिल्लाका रूपमा स्थापित गर्न लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागि सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुभ सन्देश मिडिया प्रा.लि.को आयोजन, कुश्मा नगरपालिकाको सहयोग र जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै पर्वतका जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि.क.ले बालबालिका तथा युवाहरूलाई लागू औषधबाट जोगाउन अभिभावकहरूले विशेष चासो राख्नुपर्ने बताउनुभयो । दुर्व्यसनीको समस्या बजार क्षेत्रमा मात्रै छ भनेर बस्दा गाउँमा समेत यो समस्या बढ्दै गइरहेको उहाँको भनाई छ । लागू औषधको नियन्त्रणका लागि सबै स्थानीय तहहरूले पनि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा  जिसस प्रमुख बि.क.ले सुझाव राख्नुभएको छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले लागू औषधको कारोबार अपराध नभएर रोगको रूपमा स्थापित भएको बताउनुभयो । सीमा नाकाहरूबाट चौपायादेखि सामग्रीहरू आयात गर्नेहरूले सामान्य रूपमै ल्याउने गरेका उदाहरण धेरै भेटिएका उहाँले बताउनुभयो । लागू औषधको नियन्त्रणको लागि प्रहरी र प्रशासन मात्रै जिम्मेवार नभएर आम नागरिक र अभिभावकहरूको भूमिका पनि उत्तिकै हुने उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रबिन विष्टले प्रहरीले घटना भएपछिको अनुसन्धानमा मुख्य भूमिका निर्वाह गर्ने भएकोले विद्यार्थी तथा आफ्ना बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि परिवार र विद्यालयको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । घटना भएपछि कारबाही भोग्नुभन्दा घटना घटाउने मानसिकताका मानिसहरू समाजमा नहुनु राम्रो हुने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीले विद्यालय तहका विद्यार्थीहरूको उमेर नै उत्सुकतापूर्ण हुने भएकोले विद्यार्थीहरू बढी प्रभावित हुने गरेको बताउनुभयो ।
पर्वत जिल्लाको पछिल्लो तीन वर्षको लागू औषध कारोबारीहरूको तथ्याङ्क सहित जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले लागू औषध दुर्व्यसन र कारोबारको अवस्था, युवा तथा बालबालिकाहरू यसमा आकर्षित हुन सक्ने कारण लगायतको बारेमा जानकारी गराउनुभयो ।
शुभ सन्देश मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सदरमुकाम कुश्मा र आसपासका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, कुश्माका औषधि व्यवसायीहरू सहित सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चालन पत्रकार गणेश गिरीले गर्नुभएको थियो ।

ताजा

Related Articles