पर्वत-पर्वत जेसिजको आयोजनामा प्रदेश अस्पताल पर्वतमा विद्यार्थीहरूको रगतको समूह छुट्टाइएको छ ।
फ्रेन्ड्स अफ प्रदेश अस्पताल, पर्वत जेसिज र मिलन फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सदरमुकाम कुश्मा बजारमा रहेका नारायण माध्यमिक विद्यालय र शिवालय माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको रगतको समूह छुट्टाइएको पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले जानकारी दिनुभयो । अस्पतालले समुदायसँग जोडिनका लागि गरिरहेका विभिन्न अभ्यासहरूले अस्पतालको विश्वसनीयतालाई बलियो बनाइरहेको उहाँले बताउनुभयो । स्थानीय व्यक्तिहरू नै अस्पतालका सेवाग्राही भएकोले उनीहरूले अस्पतालका सबै सेवा सुविधाहरूको बारेमा थाहा पाउँदा अस्पतालको बारेमा जानकारीहरू बाहिर आउने उहाँको भनाइ छ ।
अस्पतालमा नै आयोजना गरिएको कार्यक्रममा करिब एक सय जना विद्यार्थीहरूको सामूहिक रूपमा रगतको नमुना लिएर समूह छुट्टाइएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जि.सी.ले समयमा रगतको समय छुट्टाएर थाहा भएर बस्दा भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण हुन सक्ने बताउनुभयो ।
आवश्यक परेको बेलामा अरूको रगत लिन वा आफूले अरूलाई रगत दिएर कसैको ज्यान बचाउनको लागि समयमा नै रगतको समूह थाहा पाउनु राम्रो भएको उहाँको भनाइ छ ।
नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले पछिल्लो समयमा अस्पतालले प्रवाह गरिरहेको परिष्कृत र आधुनिक सेवाप्रति अस्पताल व्यवस्थापन समिति र अस्पताल प्रशासनलाई धन्यावाद दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरूको आर्थिक अवस्था बलियो नभएको भन्दै उहाँले विद्यार्थीका लागि केही छुटको योजना ल्याउन सकेमा धेरै जना लाभान्वित हुने उहाँको भनाइ छ । अस्पतालमा अक्षयकोष स्थापना गरेको मिलन फाउन्डेसन नेपालकी कार्यवाहक अध्यक्ष देवी गुरुङले अस्पतालले पछिल्ला समयमा विस्तार गरेका सेवाहरूले पर्वतवासीलाई जिल्लामा नै गुणात्मक स्वास्थ्य सेवा मिलेको बताउनुभयो ।
यस्तै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले पछिल्ला तीन वर्षमा अस्पतालले निकै तीव्र गतिमा आफ्ना आधुनिक कामहरू गरिरहेको बताउँदै अस्पतालको विगतको अवस्थामा आमूल परिवर्तन भएको बताउनुभयो । कुनै बेलामा पानीको चरम अभाव भोगिरहेको अस्पतालमा अहिले प्रत्येक तलामा आवश्यकता अनुसारको पानीको व्यवस्थापन भएको बताउनुभयो । पर्वत जेसिजका निवर्तमान अध्यक्ष मिलन पौडेलले आगामी दिनमा पनि अस्पताल सहितका अन्य संस्थाहरुसँग सहकार्य जारी रहने बताउनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको मिलन फाउन्डेसन नेपालले अस्पताललाई ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेसनका संरक्षक दुर्गा घोताने गुरुङले अस्पतालको सेवामा सघाउनको लागि उक्त रकम उपलब्ध गराउनुभएका हो । सोही अवसरमा प्रदेश अस्पतालले पत्रकार संजय रेग्मीलाई सम्मान गरेको छ । अस्पतालले गरेका राम्रा कामहरूलाई बाहिर ल्याउन, अस्पतालका सेवाहरूको बारेमा जानकारी दिएर जनतालाई सुसूचित गराएको तथा सुधार गर्नुपर्ने पक्षहरूमा रचनात्मक सुझाव दिएको भन्दै पत्रकार रेग्मीलाई सम्मान गरिएको हो ।
पर्वत जेसिजका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जेसिजका महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियो । उक्त कार्यक्रमको संयोजक जेसिजबाट लक्ष्मण बि.सी.ले गर्नुभएको थियो भने आस्था पाठ मञ्जु शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा ‘फ्रेन्ड्स अफ प्रदेश अस्पताल’ अन्तर्गत आबद्ध संघ–संस्थाहरू पर्वत जेसीज सहित शिवालय बगैंचा शैक्षिक समाज, पर्वत मिलन क्लब, एकता युवा क्लब, रोटरी क्लब अफ पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वत, पर्वत मिलन महिला समूह, पर्वत सुनचाँदी व्यवसायी संघ, बगैंचा आमा समूह, पर्वत टेलरिङ व्यवसायी संघ, धौलागिरि बहुउद्देश्यीय महिला विकास समिति, सिसेफ महिला समूह र पुन युवा क्लबका प्रमुख तथा प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो ।
पर्वत जेसीजद्वारा प्रदेश अस्पतालमा सयौं विद्यार्थीको रक्त समुह पहिचान

