29.1 C
Kathmandu
Tuesday, April 21, 2026

जन्मोत्सवको अवसरमा मोदीवेणीधाममा खाद्यान्न तथा नगद सहयोग

समाजसेवा मार्फत जन्मदिनको अर्थपूर्ण उत्सव

पर्वत-समाजसेवा र सकारात्मक सोचमार्फत युवाहरूलाई प्रेरित गर्ने उद्देश्यसहित शुक्रबार पर्वत जिल्लामा एउटा उदाहरणीय कार्य सम्पन्न भएको छ। शिवालय युवा विकास मञ्चका सचिव अविलाश गिरीको जन्मदिनको अवसरमा विशेष सामाजिक कार्यक्रम आयोजना गरिएको हो ।  जसअन्तर्गत माेदिवेणि धाममा रहेको नरसिंह मोदी बेनीधाम वृद्धाश्रममा आश्रित वृद्ध आमा–बुबाहरुलाई दैनिक उपभोग्य सामग्री तथा नगद सहयोग प्रदान गरिएको छ।

दैनिक जीवनयापनमा आवश्यक खाद्यान्न, फलफूल लगायतका सामग्री वितरण गरिएको थियाे । उक्त कार्यक्रममा वृद्धाश्रममा बसोबास गरिरहनुभएका आमाबुबाहरूले भावुक हुँदै युवा पुस्ताबाट प्राप्त भएको मायालु व्यवहारप्रति धन्यवाद व्यक्त गर्नुका साथै मनदेखि आशीर्वाद दिएका थिए।

कार्यक्रममा मञ्चका अध्यक्ष संविधान गिरीले बोल्दै “युवाहरू केवल रमाइलो र व्यक्तिगत उत्सवमा सीमित नभइ समाजको आवश्यकता र पीडालाई महसुस गर्दै सेवामा अग्रसर हुनुपर्छ। यही सोचलाई आत्मसात गर्दै हामीले यस कार्यक्रमको आयोजना गरेका हौं। आगामी दिनहरूमा पनि मञ्चले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सह–सचिव सन्दीप नेपालीले सञ्चालनको भूमिका निर्वाह गर्दै, शिवालय युवा विकास मञ्चले विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको स्मरण गराए। उहाँले भन्नुभयो, “हाम्रो अभियान सामाजिक चेतना, सेवा र सद्भाव फैलाउने हो। वृद्धाश्रममा सहयोग पु¥याउनु भनेको केवल केही सामग्री दिनु होइन, उनीहरूको आत्मसम्मान र माया पनि बाँड्नु हो।”

कार्यक्रममा मञ्चका अन्य पदाधिकारी, युवा स्वयंसेवकहरू तथा स्थानिय सामाजिक अभियन्ताहरूको पनि उल्लेखनीय उपस्थिति थियो। सबैले सचिव गिरीलाई जन्मदिनको शुभकामना दिँदै, उहाँको नेतृत्वमा अझ सकारात्मक र जनकल्याणकारी कार्यहरू हुनेमा विश्वास व्यक्त गरे।

यस कार्यक्रमले एकातिर वृद्धाश्रममा आश्रित आमाबुबाहरूको अनुहारमा मुस्कान ल्यायो भने अर्कातिर समाजका लागि उदाहरणीय प्रेरणा पनि बन्यो। समाजसेवामार्फत जन्मदिनको यस्तो अर्थपूर्ण उत्सवले युवा पुस्तालाई कर्मशील, उत्तरदायी र संवेदनशील बनाउने दिशामा सार्थक प्रभाव पार्ने विश्वास लिइएको छ।

ताजा

Related Articles