कुश्मा स्थित नमुना आवासीय माबिमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

१९ माघ,पर्वत –पर्वतकाे  कुश्मा बजार स्थित नमुना आवासीय माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।  कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक गणित विषयको शैक्षिक प्रदर्शनी कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले आफ्ना पाठ्यपुस्तकका नियमित पाठ्यसामग्रीमा आधारित रही कागज, काठ, पुराना कलम लगायतका घरेलु तथा पुनः प्रयोगयोग्य सामग्री प्रयोग गरी विभिन्न विषयगत शैक्षिक सामग्री तयार गरी विद्यालय परिसरमै प्रदर्शन गरेका थिए।

उक्त प्रदर्शनीको अवलोकन कुश्मा नगरपालिकाका शिक्षा तथा युवा शाखा प्रमुख उपसचिव विष्णु प्रसाद तिवारी तथा नेपाल पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्रीले गर्नुभएको थियो।

कक्षा ५ देखि १० सम्म विद्यार्थीहरूको  कार्यको आन्तरिक मूल्याङ्कन शिक्षक इन्द्र क्षत्री ,भोला सुवेदी र सज्जन पाैडेलले गर्नुभएको थियो भने,   १   देखि ५ सम्मकाे मूल्याङ्कन उमा काेइराला, चिन्तामणी पाैडेल र कुशुम गिरी ले गर्नुभएको थियो । त्यसको नतिजा अहिले  मुल्यांकन गरि  घोषणा गरिने छ भने पुरस्कार वितरण विद्यालयको वार्षिक उत्सवका अवसरमा गरिने जानकारी दिइएको छ।

विद्यालयले विगत वर्षहरूमा पनि विभिन्न विषयमा यस्ता शैक्षिक प्रदर्शनी सञ्चालन गर्दै आएकोमा यस वर्ष मंसिर महिनामा विज्ञान विषय तथा माघमा गणित विषयको प्रदर्शनी आयोजना गरिएको हो। यसैगरी गत पौष महिनामा व्यावहारिक सिप अन्तर्गत कक्षागत खाना महोत्सव, साथै व्यावसायिक धारणा र ज्ञान अभिवृद्धिका लागि कक्षागत तथा स्काउट ट्रुपद्वारा हाटबजार सञ्चालन गरिसकेको विद्यालयले जनाएको छ।

विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले सैद्धान्तिक तथा सूत्रात्मक अध्ययनलाई प्रयोग र स्वअभ्यासमार्फत गहन र दिगो बनाउन यस्ता प्रदर्शनी उपयोगी हुने बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीलाई पढाइमा अब्बल बनाउनुका साथै मोबाइलको लत र कमजोर सङ्गतबाट जोगाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माले प्रयोग र प्रदर्शनीमूलक शिक्षाले विद्यार्थीमा पढाइप्रति रुचि, ज्ञान र सिप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रदर्शनीमा आफूले बनाएका सामान राख्न र साथी तथा अभिभावकलाई देखाउँदा विद्यार्थीहरु निकै उत्साहित तथा सक्रिय देखिएका थिए भने शिक्षकहरु पनि सिकाई व्यस्थापन प्रश्नावली तथा मूल्याङ्कनमा खटिई रहेको देखिन्थ्यो ।

पर्वत जिल्ला भरमा यस विद्यालयले विभिन्न शैक्षिक क्रियाकलाप र गतिविधि सञ्चालनमा यो विद्यालयले प्रमुख भुमिका खेलिरहेको र हरेक प्रतियोगितामा उच्च सफलता प्राप्त गरि आएको छ।

ताजा

Related Articles