३ चैत २०८२,बाग्लुङ — काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम फापरखेत स्थित भुमे आधारभूत विद्यालयका शिक्षक तथा झुलेनी योग तथा साधना केन्द्रका प्रशिक्षक रुद्र प्रसाद शर्मा लाई सम्मानसहित बिदाई गरिएको छ। आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उहाँलाई खादा, दोसल्ला तथा सम्मानपत्र प्रदान गर्दै बिदाई गरिएको हो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक-शिक्षिका, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रशिक्षक शर्माले केन्द्रमा रहँदा विद्यार्थी तथा स्थानीय समुदायलाई योग, ध्यान र साधनासम्बन्धी ज्ञान प्रदान गर्दै स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियोे । उहाँको पहलमा केन्द्रले नियमित योग अभ्यास सञ्चालन गर्दै मानसिक शान्ति, अनुशासन र स्वस्थ जीवनशैली प्रवर्द्धनमा भूमिका खेलेको सहभागीहरूले बताएका छन् । शर्मा २०७९ सालदेखि उक्त बिद्यालयमा कार्यरत रहि २०८२ सालमा बिदाई हुनुभएको हो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले शर्माको समर्पण, अनुशासन र सकारात्मक सोचले विद्यालय तथा समुदायमा दीर्घकालीन प्रभाव छाडेको उल्लेख गर्दै आगामी दिनमा पनि उहाँको सफलताको कामना गरेका थिए।
बिदाई मन्तव्य व्यक्त गर्दै शर्माले आफूलाई सहयोग गर्ने विद्यालय परिवार र स्थानीय समुदायप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले योग र साधनालाई जीवनशैलीका रूपमा अपनाउन सबैलाई आग्रह गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
योग प्रशिक्षक भिमनिधी शर्मा र रुद्र प्रसाद खरेलको पहलमा बि.सं. २०८१ सालमा झुलेनी योग तथा साधना केन्द्र स्थापना भएको थियोे । संस्थाका अध्यक्ष थमकुमारी श्रीसले आफू जीवित रहनेबेला सम्म संस्थालाई दैनिक संचालन गरिरहने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य भूमा पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रमको संचालन योग प्रशिक्षक भिमनिधी शर्माले गर्नुभएको थियोे ।

