बागलुङ-बागलुङ नगरपालिका–७ स्थित पर्यटकीय गन्तव्य रायरायँकोटमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोर्ड व्यवस्थापन गरिएको छ।
म्याग्दी जेसीजको आयोजना तथा बागलुङ जेसीज र पर्वत जेसीजको सह–आयोजनामा उक्त बोर्ड स्थापना गरिएको हो।
स्थापित बोर्डको उद्घाटन बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष मेघराज शर्मा गैरेले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले यस्ता संरचनाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
म्याग्दी जेसीजका महासचिव गोकुल बिश्वकर्माका अनुसार, अध्यक्ष दिनेशकुमार बिश्वकर्माको जन्मस्थान समेत रहेको रायरायँकोटलाई थप चिनाउन “अध्यक्ष गाउँ प्रवर्द्धन कार्यक्रम” अन्तर्गत बोर्ड स्थापना गरिएको हो। उहाँले संस्थाको वार्षिक कार्यक्रमलाई स्मरणीय बनाउने उद्देश्यले पनि यस्तो पहल गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न वक्ताहरूले पर्यटन प्रवर्द्धनसँगै तीन जिल्लाका जेसीज शाखाबीचको सहकार्य र सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।

बोल्ने क्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्षका सल्लाहकार तथा बागलुङ जेसीजका पूर्व अध्यक्ष सुदिप राजभण्डारी, म्याग्दी जेसीजका पूर्व अध्यक्ष राजेन्द्र आचार्य, पर्वत जेसीजका अध्यक्ष सर्मिला शर्मा र रायरायँकोट विकास समितिका अध्यक्ष नन्दलाल गौतमले संयुक्त प्रयासले क्षेत्रीय पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो।
कार्यक्रम म्याग्दी जेसीजका अध्यक्ष दिनेशकुमार बिश्वकर्माको अध्यक्षता, बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको स्वागत, पर्वत जेसीजका महासचिव रामचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

