१० जेष्ठ २०८३, पर्वत-नेपाल जेसीज वर्ष- २०२६ का निरुपित राष्ट्रिय उपाध्यक्ष आरोग्य श्रेष्ठलाई पर्वत जेसीजले जिल्लामा स्वागत गरेको छ । आइतबार कुश्मा स्थित जेसीज पर्वतको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट गरिएको हो । कार्यक्रममा बोल्दै श्रेष्ठले पर्वत जेसिजको उत्कृष्ट कार्यसम्पादनप्रति खुसी व्यक्त गर्नुभएको छ । पर्वत जेसीजले यो बर्ष नेपाल जेसीजले निर्धारण गरेका प्रत्येक महिनाका सम्पूर्ण टास्कहरू सफलतापूर्वक सम्पन्न गर्दै राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएकोमा पर्वत शाखालाई प्रशंसा र बधाई ज्ञापन गर्दै आगामी दिनहरुमा पनि थप उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । चालु कार्यकालको हालसम्मको पाँच महिनाको अवधिमा शाखाले चार वटा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ । उक्त उपलब्धिले पर्वत जेसीजको सक्रियता, प्रतिबद्धता तथा उत्कृष्ट कार्यसम्पादनलाई थप पुष्टि गरेको उहाँले बताउनुभयो । आगामी दिनहरुमा पर्वत जेसीजका सदस्यहरुको नेतृत्व तथा व्यक्तित्व विकासका कार्यक्रमका लागि नेपाल जेसीजले पहल गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सबैको सकारात्मक साथ र सहयोगले पर्वत जेसीजले समाजमा सकारात्मक र रचनात्मक कार्यहरू गर्न सफल भएको पर्वत जेसीजका अध्यक्ष शर्मिला शर्माले बताउनुभयो । राष्ट्रिय उपाध्यक्षको गरिमामय उपस्थिति र प्रेरणादायी एवं ऊर्जावान् मार्गनिर्देशनप्रति शर्माले धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
पर्वत जेसीज- २०२६ का अध्यक्ष शर्मिला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइटी अफिसर प्रविन श्रेष्ठको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव रामचन्द्र सुवेदीले गर्नुभएको थियोे ।

