27.1 C
Kathmandu
Sunday, May 24, 2026

पत्रकारसँग सांसद भुसालको अन्तरक्रिया,पर्वतको विकास र समृद्धिका लागि प्रतिबद्ध रहेको भनाई

१० जेष्ठ २०८३,पर्वत- पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जिल्लाको विकास, समृद्धि,सुशासन र समुन्नतिको लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पर्वतले आइतबार आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले  पर्वतको विकास र समृद्धिका लागि अनवरत लागि परिरहने बताउनुभएको हो । पर्वतको कालीगण्डकी बहुउद्देश्यीय जलाशययुक्त परियोजना, फलामखानीको फलाम उत्खनन र प्रशोधन,  मोदीको ढुङ्गाखानी, हम्पालको जडिबुटी र फलेवासको रङ्गशाला लगायतका आयोजनाहरूलाई प्राथमिकिकरण गरेर बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई आग्रह गरेको बताउनुभयो ।

‎‎सांसद भुसालले पत्रकारहरूसँग जिल्लाको समग्र विकास, सुशासन र भावी रणनीतिबारे आफ्नो धारण व्यक्त गर्नुभएको थियोे । पर्वतबाट निर्वाचित भएपछि पहिलोपटक पर्वतका संचारकर्मीहरुसँग भेटघाट तथा संवाद गर्नुभएका भुसालले आफू निर्वाचनको क्रममा मत माग्न जनताको बीचमा जाँदा मतदाताले आफूलाई बाँदर नियन्त्रण गरिदिन आग्रह गरेको वताउँदै बाँदर नियन्त्रण पर्वतको मात्र समस्या नभएर सिंगो देशकै समस्या भएकोले कानून बनाएरै यो समस्यालाई समाधान गर्न संसदमै गम्भीर छलफल भएको बताउनुभयो । जिल्लाको विकासका लागि सबैको सहयोग र सहकार्यको आवस्यकता रहेको भन्दै जिल्लास्थित राजनीतिक दल, सरोकारवाला र सञ्चारकर्मीसँग समेत रचनात्मक सुझावको अपेक्षा गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटाले पत्रकार र जनप्रतिनिधिबीचको संवादले लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउने बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै पत्रकारको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण तथा स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनमा राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
‎“ सापकोटाले भन्नुभयो”जनप्रतिनिधि र सञ्चारकर्मीबीच निरन्तर संवाद हुन सके नागरिकका मुद्दा अझ प्रभावकारी रूपमा उठान गर्न सकिन्छ ।”

‎कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो। सञ्चारकर्मीहरूले जिल्लाको मिडियाको वर्तमान अवस्थाको वारेमा सांसद भुसाललाई जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय सचिव लक्ष्मण बिसिले गर्नुभएको थियो ।

ताजा

Related Articles