२३ जेष्ठ २०८३ पर्वत- पर्वतको कुश्मा नगरपालिकामा नगरको शैक्षिक अवस्था र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरभित्रको शैक्षिक अवस्था, चालु शैक्षिक कार्यक्रम तथा शिक्षा नीतिको कार्यान्वयनको अवस्थाका बारेमा जिल्लामा क्रियाशील पत्रकारहरूसँग बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरका विभिन्न विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार विकास तथा विद्यार्थीको सिकाइ उपलब्धिबारे विस्तृत छलफल गरिएको थियो। साथै शिक्षा नीति कार्यान्वयनमा देखिएका चुनौती र आगामी योजनाबारे पनि समीक्षा गरिएको थियो । नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद तिवारीले नगरको शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन निरन्तर सुधारका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “नगरभित्रको शैक्षिक गुणस्तर सुधार गर्न हामीले नियमित अनुगमन, शिक्षक क्षमता विकास तालिम तथा प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिएका छौँ।”
आधारभूत तहका विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न खाजाको व्यवस्था प्रभावकारी माध्यम बनेको उल्लेख गर्नुभयो । अनिवार्य तथा निशुल्क शिक्षाको पूर्ण कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको स्पष्ट पार्दै नगरका १४ वटै वडामा ४ देखी १३ वर्षसम्मका विद्यालय बाहिर रहेका बालबालिकाको विवरण संकलनका लागि सिकाई केन्द्रका परिचालक खटाइएको र बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गरिने बताउनुभयो ।
आधारभूत तह अध्ययन नगरेको व्यक्ति कुनैपनि निर्वाचनमा भाग लिन नपाउने, सरकारी तथा नीजि संस्थामा काम गर्न नपाउने नीतिमा उल्लेख गरिएको छ ।
संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निशुल्क शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न नगरपालिकाले निरन्तर अनुगमन र सुधारका कार्यक्रम अघि बढाएको तिवारीको भनाई छ ।
कार्यक्रममा सहभागी पत्रकारहरूले पनि नगरको शिक्षा क्षेत्रमा देखिएका समस्या, विद्यालय व्यवस्थापन, परीक्षा प्रणाली तथा विद्यार्थी पलायनजस्ता विषयमा जिज्ञासा राखेका थिए।

