सन्तुको फर्निचरमा प्रवेश गर्दा कोदालो फेला परेपछि त्यसलाई नै कुशलले आक्रमण गर्ने हतियार बनाए । कोदालो बोकेर सन्तुको कोठामा पस्छन । खाँटमा सुतिरहेकी सन्तुलाई कोदालोको पासोले (पछाडिको भागले) टाउकोमा प्रहार गरे ।
उनको मृत्यु भएपछि मृतकले घाँटीमा लगाएको सुनको सिक्री र कानमा लगाएका १० वटा मुन्द्राहरू निकाले । आफूले घरबाट लिई आएको सुनको जस्तो देखिने नक्कली सिक्री मृतक सन्तुलाई लगाइदिए ।
आफूले गरेको कसुर लुकाउन कुशलले कोठाभित्रै रहेको मोबिल सन्तुको शरीर, भुइँ तथा विस्तारामा खन्याए । आफ्ना प्रमाणहरू मेटाउनको लागि आगोले ध्वस्त पार्ने उद्देश्य राखेर सोही कोठामा रहेको ग्यास चुलो ‘अन’ गरे ।
उक्त कोठाको ढोकाको चुकुल भित्रबाट लगाए । कोठामा रहेको अण्डाको खाली क्यारेट साथमा लिएर झ्यालबाट बाहिर निस्के । क्यारेट बालेर झ्यालबाट नजिकै रहेको विस्तारामा राखी आफू घरतर्फ लागे ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक विजय यादवले घटनादेखि पुरी पक्राउसम्मको जानकारी पत्रकार सम्मेलनमार्फत गराएका हुन् ।
गत जेठ ८ गते बिहान करिब पौने ८ बजेको समयमा सोमकुमारी नेपाली आफू बस्दै आएको कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको सूचनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।
मृतकको टाउकोमा गहिरो चोट लागेको तथा रगत बगेको, शरीरमा, भुइँमा, विस्तारामा मोबिल लतपतिएको, कोठाभित्र ग्याँस खुल्ला रहेको, खाँटमा अण्डाको क्यारेट जलेर खरानी भएको, मृतकले कानमा लगाएका सुनका मुन्द्राहरू नरहेको, घाँटीमा सुनको जस्तो देखिने पहेलो धातुको सिक्री रहेको र औँठी रहेको अवस्था पाइएको थियो ।
लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालय पोखराबाट समेत प्राविधिक टोली खटिएर घटनाको अनुसन्धान थालिएको थियो । अनुसन्धानको क्रममा मृतकसँग पछिल्लो समयमा सबैभन्दा नजिक बनेका पुरीलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो । पुरी नेपालीको घरमा आइरहने, आर्थिक कारोबार गरिरहने बुझिएपछि प्रहरीको अनुसन्धान उनैतर्फ मोडिएको थियो ।
आरोपित पुरीका गतिविधिहरू शंकास्पद देखिएको र अचानक सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई झनै कडाइका साथ पछ्याइरहेको थियो । उनी खोजतलासकै क्रममा जेठ २६ गते बिहान करिब साढे ५ बजेको समयमा पर्वतकै मोदी गाउँपालिका–५ पातिचौरस्थित एक होटेलमा लुकीछिपी बसिरहेको अबस्थामा पक्राउ परे । खानतलासीको क्रममा पुरीको साथबाट मृतकले लगाउने गरेका आठवटा सुनका मुन्द्रा समेत बरामद भएका प्रहरी नायव उपरीक्षक यादवले बताए ।
पुरीमाथि भएको प्रारम्भिक अनुसन्धानको क्रममा आफूले सन्तुलाई कर्तव्य गरी मारेको स्वीकार गरेको प्रहरीले बताएको छ । घटनामा प्रयोग भएको बाउसो मृतकको फर्निचरमा लुकाई छिपाई राखेको भनी खुलाएको र सोही आधारमा वरामद पनि भएको छ ।
रास्वपा कुश्मा नगरसभापतिलाई लुटेका गहना खरिद गरेको अभियोगमा पक्राउ
यस प्रकरणमा रास्वपा कुश्मा नगर सभापति रमेशकुमार श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिनुमा भने गहना खरिदसँग सम्बन्धित छ ।
पुरीले हत्यापछि लुटिएका गरगहनामध्ये एउटा सुनको सिक्री र दुईवटा कानमा लगाउने मुन्द्रा पर्वतकै कुश्मा नगरपालिका–५ कुश्मास्थित दर्शनटोल बस्दै आएका स्मृति गहना उद्योगका सञ्चालक श्रेष्ठलाई बिक्री गरे । खानतलासीका क्रममा मृतकले लगाउने सुनको सिक्री र मुन्द्रा बरामद गरी श्रेष्ठलाई जेठ २६ गते पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अभियुक्त पुरीलाई कर्तव्य ज्यान तथा डाका चोरी कसुर मुद्दामा र श्रेष्ठलाई लुटिएका गहनाहरू खरिद गरेको अभियोगमा पर्वत जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताएका छन् ।

