सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी संचारमाध्यममार्फत् मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरुद्धमा पर्वतमा पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको आयोजनामा संचारकर्मीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वत अगाडि धर्ना दिएका हुन् । सरकारले गरेको एकपक्षीय निर्णयले निजी तथा सामुदायिक संचारमाध्यमको अस्तित्व संकटमा पर्ने, प्रेस स्वतन्त्रता कमजोर हुने तथा स्थानीय संचार क्षेत्रको व्यवसायिक वातावरण झनै नराम्रोसँग प्रभावित हुने संचारकर्मीको भनाई छ ।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतका पदाधिकारीले सरकारी विज्ञापनमा सवै संचारमाध्यमको समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका थिए । सरकारी निर्णयले स्थानीय पत्रपत्रिका, एफएम रेडियो, अनलाइन संचारमाध्यम तथा अन्य निजी संचार संस्थाहरु प्रत्यक्ष रुपमा प्रभावित हुने संचारकर्मीहरुको गुनासो छ । धर्ना कार्यक्रम पश्चात अध्यक्ष सापकोटालेसरकारको निर्णय विरुद्ध संकलित हस्ताक्षर पत्र सहायक प्रजिअ गणेश प्रसाद पौडेललाई प्रदान गरेका थिए ।
महासंघले सरकारको निर्णय फिर्ता नभएसम्म चरणवद्ध आन्दोलनका कार्यक्रम संचालन गर्ने चेतावनी दिएको छ । धर्ना कार्यक्रममा पर्वत जिल्लाका विभिन्न संचारमाध्यम आवद्ध पत्रकारहरुले सहभागीता जनाएका थिए । जिल्लामा क्रियाशील पत्रकारहरुले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र र बहुल संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सरकारी विज्ञापन वितरणमा निष्पक्षता र समानताको सिद्धान्त अवलम्वन गर्न सरकारसँग आग्रह गरेका छन् ।
पछिल्लो समय राज्यको चौथो अंग भनिने पत्रकारिता क्षेत्रले अनेकखाले समस्या र चुनौती खेपिरहेका बेला सरकारले दिदै आएको सरकारी विज्ञापनमा समेत विभेद गरेपछि स्थानीय मिडिया थप संकटमा पर्ने निश्चित छ ।
विज्ञापन सरकारी संचारमाध्यममा मात्र प्रसार गर्ने सरकारको निर्णय विरुद्ध पर्वतमा धर्ना

