मोतीमा चौथो चरणको ट्याग परियोजना सुरु, किशोरीहरुका लागि कार्यक्रम प्रभावकारी बन्दै

३० जेष्ठ,पर्वत-शैक्षिक तथा सामाजिक कार्यमा क्रियाशिल पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयमा सञ्चालित ‘टेक एक गल्स’ (ट्याग) परियोजनाको चौथो चरणको कार्यक्रम सुरु भएको छ ।  रिड नेपालको सहयोग तथा पुस्तकालयको व्यवस्थापनमा बिगत ४ बर्षदेखि संचालन हुँदै आएको उक्त कार्यक्रमको चौथो चरण औपचारिक रुपमा सनिबारबाट सञ्चालन भएको हो ।

गत फागुनमा रिड नेपाल र पुस्तकालयबीच यो सम्झौता भए अनुसार आवश्यक प्रक्रिया पूरा गरेर चौथो चरणको कार्यक्रम संचालन गरिएको मोती सामुदायिक पुस्तकालय ट्याग परियोजना कोडिनेटर रमा भुसालले जानकारी दिनुभयो ।प्रविधिमार्फत किशोरीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले संचालित कार्यक्रममा फलेवास नगरपालिका स्थित विभिन्न बिद्यालयमा अध्ययनरत ५५ जना किशोरीहरुको सहभागीता रहेको उहाँले बताउनुभयो । अहिलेसम्म करिब २ सय ३० जना किशोरीहरुले तालिम प्राप्त गरेको र अहिले उनिहरु सिनियर ट्याग गर्लसको रुपमा समाजमा विभिन्न चेतनामूलक र रचनात्मक कार्यहरू गर्दै आएको भुसालको भनाइ छ ।

कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले नगरको गहनाको रुपमा रहेको मोती सामुदायिक पुस्तकालय शैक्षिक तथा सामाजिक जागरणमा सकृय रहेको बताउनुभयो । पुस्तकालयले संचालन गरेका शैक्षिक तथा सामाजिक कार्यहरुको प्रसंशा गर्दै नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्माले पुस्तकालयले रिड नेपालसँगको सहयोगमा पुस्तकालयमा संचालन भएको ट्याग परियोजना कार्यक्रम निकै किशोरीहरुका लागि प्रभावकारी भएको बताउनुभयो । उक्त कार्यक्रमले किशोरीहरुको आत्मविश्वास बढाएको र समाजमा सकारात्मक र रचनात्मक कार्यमा प्रेरित गर्न मद्दत पुर्‍याएको उहाँले बताउनुभयो ।

‎उहाँले भन्नुभयो ” कुनै पनि व्यक्ति अब्बल, सफल र सक्षम बन्नको लागि भरपुर आत्मविश्वास, निरन्तर मेहनत र लगनशीलता आवश्यकता पर्छ ।” ट्याग परियोजना कार्यक्रमले किशोरीहरुलाई क्षमतावन र आत्मविश्वासी बनाउन मद्दत पुगेको शर्माको भनाइ थियो । कार्यक्रमलाई नगरका सबै वडामा संचालन गर्न आवश्यक पहल गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।  रिड नेपालका ट्याग परियोजना सिनियर कोडिनेटर भाग्यश्री बिष्टले किशोरीहरुलाई प्रविधिको माध्यमबाट नेतृत्व तथा व्यक्तित्व विकासमा जोड दिने उद्देश्यले ट्याग परियोजना संचालन गरिएको बताउनुभयो ।पछिल्लो समय ट्याग परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

‎कार्यक्रममा मोती सामुदायिक पुस्तकालय संचालक समिति सदस्य ल्याम बहादुर दर्जी, भवानी बिद्यापीठ माबिका प्रधानाध्यापक लक्ष्मीनारायण शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सिनियर ट्याग युनिषा भुसालले कार्यक्रममा सिकेका कुराहरूको अनुभव  सुनाउनुभएको थियो । पछिल्लो समय ट्याग परियोजना कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

पुस्तकालयले शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रमलाई समेत जोड दिदै आएको छ । कार्यक्रमका अवसरमा तालिममा सहभागी हुने किशोरीहरुलाई ट्याग लोगो अंकित टिसर्ट र क्याप टोपी वितरण गरिएको छ ।

‎प्रविधिको सहि सदुपयोग, समयको व्यवस्थापन, सहयोगी भावनाको विकास, तनाव व्यवस्थापन, अनुशासन, आत्मविश्वास, आफ्नो प्रतिरक्षाको कार्य, जीवन उपयोगी र व्यवहारिक ज्ञान, बाल बिवाहा रोकथाम लगायत शैक्षिक तथा सामाजिक ज्ञानको विकास भएको तालिममा सहभागी किशोरीहरुले बताएका छन् ।

पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिनियर ट्याग जस्मिता क्षेत्रीको स्वागत मन्तव्य र संचालन वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले गर्नुभएको थियोे ।

ताजा

Related Articles