२ असार २०८३, पर्वत-पर्वतको मोदी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धि सरोकारवासँग प्रि-बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ। पालिकाको आयोजना उक्त कार्यक्रम मोदी सभाहल पातिचौर सनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले स्थानीय आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतालाई समेटेर यथार्थपरक बजेट निर्माण गरिने बताउनुभयो । नागरिकका सुझावलाई नीति तथा कार्यक्रममा समावेश गर्न गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष बिमल लामिछानेले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत बाबुरा पुरीले बजेट तर्जुमा प्रक्रियाबारे जानकारी गराउँदै प्राप्त सुझावहरूलाई आवश्यक अध्ययनपछि समेटिने बताउनुभयो ।
प्रशासकीय अधिकृत विकास केसीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।छलफलका क्रममा सहभागीहरूले पालिकाको विकास र समृद्धिका लागि दीर्घकालीन योजना, कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार, ग्रामीण सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, युवा स्वरोजगार, महिला सशक्तीकरण, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायत विषयमा सुझाव दिएका थिए।
कार्यक्रममा प्राप्त सुझावका आधारमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी, समावेशी र जनमुखी बनाइने गाउँपालिकाले जनाएको छ।

