कुश्मा नगरपालिकाको आगामी बर्षको बजेट करिब ९० करोड

<span;>७ असार २०८३, पर्वत- पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार सम्पन्न १३ औं अधिवेशनमा नगरप्रमुख रामचन्द्र जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो । नगर उपप्रमुख स्वस्थानी रिजालले आगामी आर्थिक बर्षका लागि  ८९ करोड ९९ लाख बराबरको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । समृद्ध सुन्दर, कुश्मा नगर” भन्ने दृघकालीन योजनाका साथ पुर्वधार विकास, शिक्षा, स्वास्थ, सडक, खानेपानी, सिँचाइ, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकता दिदै नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख जोशीले बताउनुभयो । सुशासन र पारदर्शितालाई आत्मसात गर्दै समग्र नगरको विकास र समृद्धिलाई जोड दिएको उहाँले बताउनुभयो ।

‎प्रस्तुत बजेटमध्ये चालुतर्फ ५३ दशमलब २५ प्रतिशत र पुँजीगततर्फ ४६ दशमलब ७५ प्रतिशत रकम विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा मौज्दात रकमलाई स्रोतका रूपमा अनुमान गरिएको उपप्रमुख स्वस्थानी रिजालले जानकारी दिनुभयो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधारतर्फ निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्न दुई करोड रुपैयाँ विनियोजन गरेको छ । वडा तहका सडक, खानेपानी तथा सिँचाइ आयोजनाका लागि सात करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । वडा नं. ९ मा सञ्चालन हुने ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत कटुवाचौपारी-मल्याङ्‌दीखोला लिफ्ट खानेपानी आयोजनाका लागि रु.एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि उत्पादन वृद्धि तथा खाद्य सुरक्षालाई प्राथमिकता दिँदै कृषि यान्त्रीकरण र प्लाष्टिक टनेल विस्तार कार्यक्रमका लागि एक करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा क्षेत्रतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न रु.१५ लाख रुपैयाँ, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न १३ लाख ८१ हजार रुपैयाँ तथा दिवा खाजा कार्यक्रमका लागि ७३ लाख एक हजार रुपैयाँ बजेट छुट्याइएको छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन केन्द्रमा ९० लाख रुपैयाँ तथा लक्ष्मीनारायण मन्दिर (शालग्राम आश्रम) का लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

विपद् व्यवस्थापनका लागि ४० लाख रुपैयाँ तथा फोहोरमैला व्यवस्थापनका लागि ३० लाख रुपैयाँ छुट्याइएको छ ।

ताजा

Related Articles