पर्वत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

१६ असार,पर्वत-पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा पर्वत जिल्लाका सातवटै स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि मंगलबार औपचारिक रूपमा घोषणा गरिएको हो ।


कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, पर्वतका प्रमुख बद्रीराज आचार्यले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी जिल्लाको प्रतिवेदन प्रस्तुत गर्दै पर्वत जिल्लाले राष्ट्रिय खोप कार्यक्रमको मापदण्ड पूरा गरेको जानकारी गराउनुभयो । उहाँले नियमित खोप सेवा, घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोजी तथा स्थानीय तह, स्वास्थ्य संस्था र समुदायको सक्रिय सहभागिताका कारण पर्वतले पूर्ण खोप सुनिश्चितता हासिल गर्न सफल भएको बताउनुभयो । साथै आगामी दिनमा पनि प्रत्येक नवजात तथा बालबालिकाले समयमै सबै खोप पाउने व्यवस्था निरन्तर कायम राख्नु नै दिगोपनाको मुख्य आधार हुने उल्लेख समेत गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विष्णुराम बिकले पूर्ण खोप सुनिश्चितता घोषणा पर्वत जिल्लाका लागि गौरवको विषय भएको उल्लेख गर्दै सबै सरोकारवालाको संयुक्त प्रयासबाट यो सफलता सम्भव भएको बताउनुभयो । “उहाँले भन्नुभयो पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको एउटा उपलब्धि मात्र होइन, यो हाम्रा बालबालिकाको सुरक्षित भविष्यप्रतिको सामूहिक प्रतिबद्धता हो । यसलाई दिगो बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्छ ।“
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले घोषणा पश्चात् यसको निरन्तरता अझ चुनौतीपूर्ण हुने उल्लेख गर्दै सबै निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएउनुभयो । “पूर्ण खोप सुनिश्चितता कायम राख्नु घोषणा गर्नु भन्दा अझ महत्वपूर्ण विषय हो । प्रत्येक बालबालिकाले समयमै सबै खोप पाउने सुनिश्चितताका लागि सम्बन्धित सबै पक्ष निरन्तर सक्रिय रहन आवश्यक रहेको पौडेलले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले जनस्वास्थ्य प्रवद्र्धनमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । “खोपसम्बन्धी सही सूचना आमनागरिकसम्म पु¥याउने, भ्रम चिर्ने र जनचेतना अभिवृद्धि गर्ने कार्यमा सञ्चार क्षेत्र सदैव जिम्मेवार रहनेछ । स्वस्थ समाज निर्माणका लागि सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी बन्नुपर्ने धारणा सापकोटाले ब्यक्त गर्नुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यले प्रस्तुत गरेको प्रतिवेदनअनुसार पर्वत जिल्लाका सातवटै स्थानीय तहमा घरधुरी सर्वेक्षण सम्पन्न गरी १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप अवस्थाको समीक्षा गरिएको थियो। प्रतिवेदनमा ८९२ जना बालबालिकामध्ये ८८२ जनाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गरेको, छुट भएका बालबालिकालाई समेत खोजी गरी खोप उपलब्ध गराइएको तथा जिल्लाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका सबै मापदण्ड पूरा गरेको उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले पूर्ण खोप सुनिश्चिततालाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्दै प्रत्येक नवजात शिशु तथा बालबालिकाले समयमै राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

ताजा

Related Articles