२ भदौ, २०८३, पर्वत-पर्वतको कुश्मा नगरपालिका–८, चुवामा रु. १ करोड ४० लाखको लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यालय भवनको सोमबार एक समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले गरेका हुन्।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, बागलुङमार्फत निर्माण गरिएको उक्त भवनमा सातवटा कार्यकक्षसहित एक सभाहल रहेको छ। भूकम्पका कारण पुरानो वडा कार्यालय भवन जीर्ण तथा सेवाप्रवाहका लागि अनुपयुक्त बनेपछि नयाँ भवन निर्माण गरिएको हो।
भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख जोशीले आफू कुश्मा नगरपालिकाको नेतृत्वमा निर्वाचित भएको करिब साढे नौ वर्षको अवधिमा नगरका विभिन्न क्षेत्रमा उल्लेखनीय पूर्वाधार विकास भएको दाबी गरे। दुई कार्यकालको अवधिमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, विद्युत् तथा सिँचाइ लगायतका क्षेत्रमा महत्वपूर्ण काम सम्पन्न गरिएको उल्लेख गर्दै उनले नागरिकले स्थानीय सरकारको प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राखिएको बताए।
नगरप्रमुख जोशीले आफ्नो कार्यकालको बाँकी अवधिमा अधुरा रहेका विकास निर्माणका आयोजनालाई समेत प्राथमिकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयसँगको सहकार्यमा गत आर्थिक वर्षमा कुश्मा नगरपालिकाका दुईवटा वडा कार्यालय भवन, एक व्यावसायिक भवन निर्माण गर्नुका साथै नगरका विभिन्न स्थानमा करिब नौ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा तहबाट प्रवाह हुने प्रशासनिक तथा नागरिक सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ। पर्याप्त कार्यकक्ष र सभाहलसहितको संरचनाले सेवा प्रवाहका अतिरिक्त सभा, सम्मेलन, गोष्ठी तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नसमेत सुविधा पुग्ने जनाइएको छ।
कुश्मा नगरपालिका–८ का वडा अध्यक्ष सुरेन्द्र केसीले पुरानो तथा जीर्ण भवनबाट सेवा प्रवाह गर्न कठिनाइ हुँदै आएको बताए। नयाँ भवन निर्माणसँगै नागरिकलाई नियमित प्रशासनिक सेवा प्रदान गर्न सहज हुने उल्लेख गर्दै उनले भवनबाटै मंगलबारदेखि वडा कार्यालयको नियमित सेवा सञ्चालन गरिने जानकारी दिए।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल, वडा नं. ६ का अध्यक्ष ईश्वर गिरी, वडा नं. १२ का अध्यक्ष झलक रिमाललगायतले स्थानीय तहबाट प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री सेवा प्रवाहका लागि पर्याप्त तथा सुविधासम्पन्न भौतिक पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले भौतिक पूर्वाधारको विस्तारसँगै कुश्मा नगरपालिका क्रमशः समृद्धिको दिशातर्फ अग्रसर भइरहेको बताए।
कुश्मा नगरपालिकाका अनुसार गत आर्थिक वर्षमा करिब रु. ४९ करोडको बजेट परिचालन गरी विभिन्न पूर्वाधार निर्माणका कार्य अघि बढाइएको थियो। सोही अवधिमा वडा नं. ८ चुवा र वडा नं. १ पाङमा वडा कार्यालय भवन निर्माण गरिएको छ। त्यसैगरी कुश्मा नगरपालिका–५ मा व्यावसायिक भवन निर्माण गर्नुका साथै नगरका १४ वटै वडामा गरी करिब नौ किलोमिटर सडक कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ।
नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भएसँगै चुवाका स्थानीयवासीले अब एउटै स्थानबाट सहज, व्यवस्थित र सुविधाजनक रूपमा वडा तहबाट उपलब्ध हुने सरकारी सेवा प्राप्त गर्ने भएका छन्। नयाँ भौतिक संरचनाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय तह र नागरिकबीचको सम्बन्धलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

