कुश्मा नगरपालिकाले निष्क्रिय सहकारी विघटन तथा दर्ता खारेजी गर्दै

२ भदौ २०८३,पर्वत- कुश्मा नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेर लामो समयदेखि निष्क्रिय रहेका तथा आर्थिक कारोबार नगरेका सहकारी संस्थाहरूको विघटन तथा दर्ता खारेजी प्रक्रिया अघि बढाउने भएको छ।

नगरपालिकाले सहकारी संस्था विघटन तथा दर्ता खारेजीसम्बन्धी सूचना जारी गर्दै लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका सहकारी संस्था र साधारण सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमत सदस्यको निर्णयबाट संस्था विघटन गर्न चाहने सहकारीलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको हो।

कुश्मा नगरपालिका सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ बमोजिम सम्बन्धित सहकारी संस्थालाई विघटन तथा दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाउन लागिएको नगरपालिकाले जनाएको छ।

दर्ता खारेजीका लागि संस्थाको लेटर प्याडमा विघटन/दर्ता खारेजीसम्बन्धी निवेदन, व्यवसाय कर तथा बहाल कर चुक्ता गरेको प्रमाणपत्र, आन्तरिक राजस्व कार्यालयबाट प्राप्त कर चुक्ताको प्रमाणपत्र, साधारण सभाबाट दुई तिहाइ सदस्यले संस्था विघटन/दर्ता खारेज गर्ने निर्णय गरेको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ।

त्यसैगरी शेयर सदस्य, ऋणी तथा बचतकर्ताको विवरण, हालसम्मको सञ्चालक समितिको तीन पुस्ते विवरणको प्रमाणित प्रतिलिपि, अन्तिम लेखा परीक्षण प्रतिवेदन तथा ऋण लगानीबाहेकका अन्य चल/अचल सम्पत्तिको विवरणसमेत पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सम्बन्धित सहकारी संस्थाहरूलाई तोकिएका कागजातसहित कार्यालयमा निवेदन पेश गरी दर्ता खारेजीको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

ताजा

Related Articles