जिल्ला समन्वय समिति पर्वतका पदाधिकारीले ७ दिनको सुविधा बाढीपीडितलाई सहयोग गर्ने

१३ भदौ २०८३ पर्वत-जिल्ला समन्वय समिति पर्वतका पदाधिकारीको ७ दिनको सुविधा यहीँ भदौ १० गते रसुवामा आएको बाढी पीडितका लागि राहत कोषमा जम्मा गर्ने भएका छन् । राज्यलाई परेको यस कठिन घडीमा हातेमालो गर्दै जिल्ला समन्वय समिति पर्वतका सबै पदाधिकारीहरूले आफूले प्राप्त गर्ने ७ (सात) दिनको सेवा सुविधा बापतको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष तथा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिष्णुराम बिकले जानकारी दिनुभयो ।

चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाहरूमा पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति जिल्ला समन्वय समिति महासंघ, गण्डकी प्रदेश समितिले गहिरो दु:ख समेत व्यक्त गरेको छ।
गण्डकी प्रदेश समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि.क. द्वारा जारी शोक वक्तव्यमा विपद्‌मा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको शीघ्र खोजी र घाइतेहरूको नि:शुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ। साथै विस्थापित परिवारलाई तत्काल गाँस, बास र कपासको प्रबन्ध गर्न तीनै तहका सरकार र स्थानीय प्रशासनलाई आग्रह गरिएको छ।

गण्डकी प्रदेश महासंघले यस विपद्को समयमा सबै जिल्ला समन्वय समिति, स्थानीय तह, संघ-संस्था र आम नागरिकहरूलाई पीडितहरूको सहयोग र राहतका लागि ऐक्यबद्धता जनाउन हार्दिक आह्वान गरेको छ।

ताजा

Related Articles