पर्वत जेसीजद्वारा रसुवा बाढी पीडितका लागि राहत संकलन अभियान संचालन

१४ भदौ २०८३ पर्वत- रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ पर्वत जेसीजले राहत संकलन अभियान सुरु गरेको छ। पर्वत जेसिजको आयोजना तथा शिवालय युवा विकास मन्चको सहकार्यमा अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत कुश्मा बजारका विभिन्न व्यापार, व्यवसायी तथा संघसंस्थाहरुसँग राहत संकलन गरिएको पर्वत जेसीजले जनाएको छ ।

बाढी–पहिरोबाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियानमा पर्वत जेसीजका पदाधिकारीहरु तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको छ । बाढी पीडितहरुका लागि खाद्यान्न तथा लत्ताकपडा र औषधि संकलन गरिएको र जतिसक्दो चाडै पीडितलाई हस्तान्तरण गरिने जेसीज- २०२६ की अध्यक्ष जेसी शर्मिला शर्माले जानकारी दिनुभयो । ‎‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल भावनालाई आत्मसात् गर्दै अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। पर्वत जेसीजको नियमित गतिविधिभन्दा माथि उठेर बाढी–पहिरो प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने मानवीय अभियान भएकाले सबैको एकता, सक्रियता र सेवाभाव आवश्यक रहेको शर्माले उल्लेख गर्नुभयो।

अभियानमा देखिएको एकता र सेवाभावले पर्वत जेसीजले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै मानवीय सेवाको क्षेत्रमा नयाँ छाप छोड्ने विश्वास गरिएको छ। यहीँ भदौ १० गते आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति पुगेको छ ।

ताजा

Related Articles