रसुवा बाढीमा मृतककाे संख्या १३ सय ४१ पुग्याे, करिब ५ हजार अझै बेपत्ता

२१ भदौ २०८३,काठमाडाैं –रसुवाकाे भोटेकोशी नदीका आएकाे बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ११ बजेसम्मकाे रसुवा लगायतका जिल्लामा आएको बाढी र पहिरोको पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको हो । बाढीबाट निधन भएकाहरुमध्ये सबै भन्दा बढी शव चितवनमा ३६२ जनाको फेला परेको छ ।

त्यस्तै, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५, रसुवामा १६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको हाे। फेला परेका शवमध्ये हालसम्म ९८ जनाको मात्रै सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जनाएको छ। विपदमा परी अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् ।

जसमा नुवाकोटका २ हजार ३ सय ४०, रसुवाका १ हजार ९ सय ६७, विदेशी नागरिक ५८९ र सुरक्षाकर्मी तथा कर्मचारी १ सय जना रहेका हुन् । बेपत्ताको सूचीमा पहिचान नभएका शव र उद्धार गरिएका व्यक्तिहरू समेत समावेश हुनसक्ने भएकाले हाल तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको छ ।

उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको हाे। जसमा नेपाली सेनाबाट ४ हजार १६२, नेपाल प्रहरीबाट ४ हजार ६८ र सशस्त्र प्रहरी बलबाट ४ हजार ८७४ जनाको उद्धार गरिएको छ । हवाई मार्गबाट ३०४ जना विदेशी नागरिकको समेत उद्धार गरिएको हाे ।

बाढी र पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ। जसमध्ये ३ हजार २ सय ९७ जनाको नेपाली सेना, २ हजार ४ सय ६२ जनाको सशस्त्र प्रहरी र ३१६ जनाको विभिन्न अस्पतालहरूमा उपचार भएको हाे । विस्थापितहरूका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। जहाँ हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् ।

विपद् व्यवस्थापनका लागि कूल २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालन गरिएको हाे। यसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ७५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । राहत सामग्री ढुवानीका लागि काठमाडौँबाट ८३ वटा ट्रक र ३८ वटा बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको हाे। त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीका हेलिकाेप्टरमार्फत १८२ पटक उडान भरी राहत सामग्री पुर्‍याइएको छ।

नेपाल सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि नगद राहत रकम विनियोजन गरेको हाे। रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई कुल १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र १८ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले उल्लेख गरेको हाे।

प्राधिकरणले सम्पर्कविहीन र उपचाररत व्यक्तिहरूको विस्तृत विवरण प्राधिकरणको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको जनाएकाे छ।

ताजा

Related Articles