२१ भदौं, पर्वत –मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ स्थित माझमेला सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्रका रूपमा देखिन थालेको छ । एउटै स्थानमा छोटो अवधिमै पटक–पटक सवारी दुर्घटना हुन थालेपछि सडकको बनोट, भिरालोपन, चिप्लोपन, दृश्य अवरोध तथा सवारीको तीव्र गति नियन्त्रणमा प्रश्न उठेको छ ।
माझमेला क्षेत्रमा पछिल्लो अवधिमा चार वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा मात्रै १८ जना घाइते भएको देखिन्छ । दुर्घटनामा विभिन्न प्रकारका जिप तथा विद्युतीय सवारी संलग्न छन् ।
तथ्यांकअनुसार २०८३ जेठ २१ गते बा.प्र. ०१–००६ ख ६५०० नम्बरको सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । त्यसपछि २०८३ असार १३ गते सु.प्र. ०१–००१ ज १४७६ नम्बरको जिप दुर्घटनामा एक जना घाइते भए । त्यस्तै २०८३ असार २१ गते ग १ ज ८६७५ नम्बरको ईभी दुर्घटनामा १० जना घाइते भएका थिए । पछिल्लो विवरणमा २०८३ साउन २३ गते बा.प्र. ०६००१ च ०१९५ नम्बरको सवारी दुर्घटनामा एक जना घाइते भएको उल्लेख छ ।
माझमेलामै पछिल्लो समय भएको ईभी दुर्घटनाबारे प्रकाशित समाचारले पनि बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको ईभी दुर्घटनामा १० जना घाइते भएका थिए ।
माझमेलाको सडकखण्डमा दुर्घटना दोहोरिनुको मुख्य कारणमध्ये सडकको भिरालोपन र घुम्तीमा अर्को दिशाबाट आउने सवारीसाधन टाढैबाट देख्न नसकिने अवस्था रहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको भनाई रहेको छ । सडकको केही भागमा पानी परेपछि सतह चिप्लो हुने र घुम्ती तथा ओरालोमा सवारीको गति नियन्त्रण गर्न कठिन हुने समस्या देखिन्छ ।
विशेषगरी एक दिशाबाट आएको सवारी अर्को दिशाबाट आउने सवारीलाई पर्याप्त दूरीबाट देख्न नसक्ने अवस्था हुँदा चालकले तत्काल ब्रेक लगाउनुपर्ने वा सवारी मोड्नुपर्ने अवस्था आउन सक्छ । नगरप्रमुख जोशीले तीव्र गतिमा गुडिरहेको सवारीका लागि यस्तो अवस्था झनै जोखिमपूर्ण बन्ने भन्दै मध्यपहाडी लोकमार्गसंग समन्वय गरी सडकको अवस्था परिर्वतन गरिने बताए ।

