दोस्रो चरणको मतदानमा ४ हजार ५६२ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २२८२ मत चाहिन्थ्यो । देउवाले २७२४ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८१७ मत पाएका छन् । ३३ मत भने बदर भएको छ । यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेन ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो ।
देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।
तीनै उम्मेदवारको देउवालाई साथ
२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।
यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।

