23.1 C
Kathmandu
Monday, July 15, 2024

एमाले महाधिवेशन : प्रत्येक सदस्यबाट कम्तीमा १ सय रुपैयाँ उठाइने

काठमाण्डाै – नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।

आज बुधवार ललितपुरमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यलाई कम्तीमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो । त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंककाे टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ । त्यही खातामा सबै पार्टी सदस्यले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत वा त्यस बैंकको खातामा कम्तीमा एक सय रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

एमालेले यसअघि नै पार्टीको महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरिसकेको छ । प्रचार विभाग प्रमुख भट्टराईका अनुसार एमालेसँग अहिले झन्डै सात लाख ३० हजार पार्टी सदस्य छन । उनीहरूबाट कम्तीमा एक सय रुपैयाँ उठाउँदा सात करोड ३० लाख रुपैयाँ उठ्छ । त्यसले पार्टीको महाधिवेशनको खर्च पुर्‍याउन सकिन्छ ।

प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘यो महाधिवेशनलाई सम्पन्न गर्न एउटा ठूलो आर्थिक खर्च पनि छ । ठूलो पार्टी छ । ठूलो जनसहभागिता जुटाउनु पर्नेछ । देशभरबाट प्रतिनिधि आउनेछन् । विदेशी मित्रहरू पनि यसमा सहभागी हुनेछन् र ठूलै खर्च यो महाधिवेशनमा हुन्छ । त्यस कारण आजको व्यवस्थापन कमिटीको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तीमा पनि एक सय रुपैयाँ महाधिवेशनको निम्ति खोलिएको खातामा जम्मा गर्न अपिल गरेका छौँ ।

बैठकले पार्टीको महाधिवेशनसम्बन्धी सम्पूर्ण कार्ययोजना पनि परिमार्जनसहित पारित गरेको छ । जसअनुसार मङ्सिर १० गते राष्ट्रिय महाधिवेशनको उद्घाटन दिउँसाे १२ बजे चितवनको नारायणगढमा रहेकाे नारायणी नदी किनारमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । यो उद्घाटनको अवसरमा देशभरका पार्टीका शुभचिन्तक र समर्थकहरू सहभागी हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख भट्टराईले उद्घाटन समारोहमा कम्तीमा पाँच लाख जनसहभागिता हुने र त्यसका लागि चितवन र त्यस आसपासका जिल्लाबाट जनपरिचालन गर्ने निर्णय पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीले गरेको बताउनुभयो ।

यस्तै बैठकले कात्तिक ३० गतेभित्र महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूको सम्पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमा बुझाउन पनि सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको छ । एमालेले यही कात्तिक २७ गते देशभर एक साथ प्रतिनिधि छनाेट गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । महाधिवेशनमा देशभरका एक हजार नाै सय ९९ प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनको बन्द सत्र चितवनको सौरहामा हुनेछ । प्रतिनिधिहरूका लागि त्यही आसपासका लज, गेस्ट हाउसहरूमा आवास र महाधिवेशन स्थलमै सामूहिक खानाको व्यवस्था गर्ने औपचारिक निर्णय गरिएको पनि प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो । एमालेले महाधिवेशनको नेतृत्व चयनका लागि हुने चुनावका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गर्नेछ ।

बैठकले महाधिवेशनमा पोस्टर र भित्ते लेखन नगर्ने निर्णय पनि गरेको छ । विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरेर महाधिवेशनको प्रचारप्रसार गर्ने निर्णय बैठकले गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।

बैठकले महाधिवेशनका लागि दक्षिणी एसियाली देशका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।

ताजा

Related Articles