28.1 C
Kathmandu
Monday, July 22, 2024

फलेवासका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्दै !

लक्ष्मण विश्वकर्मा,पर्वत, गाउँघरका महिलाहरू प्रायः घरायसी काम र चुलोचौकोमा मात्र सिमित भएको पाइन्छ । तर पछिल्लो समय केहि गर्ने इच्छाशक्ति भएका महिलाहरू सीप सिकेर आत्मनिर्भर बन्न तम्सिएका पनि उदाहरण छन् ।

त्यस्तै उदाहरण प्रस्तुत गरेका छन्, पर्वतको फलेवासका महिला दिदिबहिनीहरुले । उनीहरूले सीप सिकेर आत्मनिर्भर हुने बाटो रोजेका छन् । केही समय अघि बेसिक सिलाइकटाइ तालिम लिएर बसेका महिलाहरू अहिले एडभान्स तालिम सिक्न व्यस्त भएका छन् ।

फलेवास नगरपालिका(४ मुडिकुवाकी अन्जु तिवारी बिहान आफ्नो घरायसी काम सकेर सिलाइकटाइ तालिम सिक्न खानीगाउँमा अवस्थित मोती सामुदायिक पुस्तकालयको भवनमा पुग्नुहुन्छ । उहाँजस्तै त्यहाँ अन्य १५ जना महिलाहरू सिलाईकटाइमा व्यस्त हुनुहुन्छ ।

बेसिक तालिम सिकेर बस्नुभएका तिवारी पछिल्लो समय एडभान्स तालिम फ्रीमा सिक्न पाउदा खुसी लागेको बताउनुहुन्छ । उहाँमात्र हैन तालिममा सहभागी सबैले तालिममा सिकेका कुराहरू व्यबहारमा उतार्ने र व्यवसायी बनेर आत्मनिर्भर बन्ने सोच बनाएका छन् ।

तालिमका अर्का सहभागी शिला सुवेदीले तालिम फलदायी रहेको र तालिम समाप्त भएपछि आफ्नै सिलाईकटाई व्यवसाय संचालन गर्ने बताउनुभयो । तालिमका प्रशिक्षक पहलसिंह दर्जीले तालिम संचालनको छोटो समयमा सिकारुले सोचेभन्दा धेरै कुरा सिकेको बताउनुभयो । महिला दिदिबहिनीहरुलाई जतिसक्दो दक्ष र सक्षम बनाउन जोड दिएको दर्जिको भनाई छ ।

लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले तालिम सिक्ने ठाउँको उचित व्यवस्थापनले पनि सिकारुमा जागरुकता बढेको बताउनुभयो । तालिम संचालनको एक सातामै पेटिकोट सिलाउन सक्षम भएको बताउदै यहीँ गतिमा सिकाइमा जोड दिए सिलाईकटाईमा दक्ष जनशक्ति बन्ने उहाँले बताउनुभयो ।करिब दुई महिना सिलाईकटाइ र केही दिन प्याड बनाउने तालिम सिकाइने उहाँले बताउनुभयो । सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिममा सहभागी महिलाहरूले तालिममा सिकेका कुराहरूको आधारमा आफ्नै गाउँठाउँमा उद्यम गरि आत्मनिर्भर बन्नेमा विश्वस्त रहेका छन् । तालिम सिक्न आएका महिलाहरुले आयोजक, सहयोगी तथा समन्वयकारी संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । ६० दिनसम्म संचालन हुने तालिममा फलेवास नगरपालिका भित्रका विभिन्न वडाका बेसिक सिलाइ सिकेका १५ जना महिलाहरुको सहभागीता रहेको छ ।उक्त एडभान्स तालिमको लागि सहयोग रोटरी क्लब अफ रुद्रमती काठमाडौंले गरेको छ, भने समन्वय तथा व्यवस्थापन मोती सामुदायिक पुस्तकालयले गरेको हो । उक्त तालिम संचालनका लागि समाजसेवी भोलानाथ शर्माले पहल गर्नुभएको थियो ।

ताजा

Related Articles