28.1 C
Kathmandu
Monday, July 15, 2024

फलेवासमा गाई भैंसीको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रम हुने,विज्ञ केन्द्रद्वारा प्रस्ताव आह्वान !

लक्ष्मण विश्वकर्मा,पर्वत/ पर्वतको फलेवास नगरपालिकामा गाई भैंसीको व्यावसायिक कृषि केन्द्र (ब्लक) कार्यक्रम संचालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आर्थिक बर्ष २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम संचालन हुने भएको हो ।उक्त कार्यक्रमको आवेदन पेश गर्नका लागि विज्ञ केन्द्रले सोमबार १५ दिने सूचना जारी गरेको छ । फलेवास नगरपालिकाका ११ वटै वडाहरुका कृषक,समुह तथा सहकारीले आवश्यक कागजात सहित यहीँ फाल्गुन ९ गतेभित्र विज्ञ केन्द्रमा निवेदन पेश गर्न सूचनामा अनुरोध गरिएको छ । अन्य पालिकामा भन्दा फलेवास नगरपालिकाका कृषकहरु बढी व्यावसायिक रुपमा पशुपालनमा लागेकोले पशु प्रबर्द्धन र दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले फलेवासमा उक्त कार्यक्रम संचालन हुन लागेको विज्ञ केन्द्रका प्रमुख रामजी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
समुदायको मागका आधारमा कार्यक्रम संचालन गरिने र उक्त कार्यक्रमका लागि ७० लाख बजेट रहेको उहाँले बताउनुभयो । मासु र दुधमा जिल्लालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम संचालन गरिएको उहाँको भनाइ छ । दुधमा भने जिल्ला आत्मनिर्भर हुन लागिसकेको पौडेलको दाबी छ । अहिले फलेवास नगरपालिकाबाट मात्र दैनिक १ हजार ६ सय लिटर दुध पोखरा जाने गरेको पौडेलले बताउनुभयो । त्यस्तै कुश्मा नगरपालिकाको पाङ र खुर्कोट बाट बाग्लुङ बजार,  जलजला गाउँपालिकाको फर्से,मल्लाज लगायतका ठाउँबाट बेनि बजार र मोदीबाट कास्कीको लुम्ले,काडेमा दुध पुग्ने गरेको उहाँले बताउनुभयो । पर्वतबाट दैनिक २ हजार १ सय लिटर दुध जिल्ला बाहिर पठाइने गरेको केन्द्रमा तथ्यांक रहेको छ ।

ताजा

Related Articles