25.1 C
Kathmandu
Monday, July 22, 2024

नेपालमा एक करोड ६२ लाख ३३ हजार मात्रा कोरोनाविरुद्धको खोप लगाइयो

काठमाण्डाै – नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिको जनसङ्ख्याको झन्डै ३८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३७ दशमलव ६ प्रतिशत अर्थात् ७४ लाख ८२ हजार एक सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।यस्तै ४३ दशमलव नौ प्रतिशत अर्थात् ८७ लाख ५० हजार नौ सय ६० जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ६२ लाख ३३ हजार एक सय ५५ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप लगाउन खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा थप चार सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार आठ सय १४ जनाको नमुना परीक्षण गर्दा चार सय ४० जना अर्थात ६ दशमलव ४५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

यस्तै यही अवधिमा चार सय ७४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९६ हजार सात सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे छ । याेसँगै काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ६० पुगेको छ ।

अहिले नेपालमा सात हजार पाँच सय १९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

ताजा

Related Articles