23.1 C
Kathmandu
Monday, July 15, 2024

पर्वतको फलेवास देविस्थानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु ।

पर्वत- पर्वतको फलेवास नगरपालिका-६ देविस्थान स्थित फलेवास देविस्थान युवा क्लबको आयोजनामा हिजोदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । खेलकुद र कला सांस्कृतिकको विकास संगै देविस्थान स्थित देविस्थान भगवती मन्दिर परिसरमा खानेपानी ट्याङ्की निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम कुवरले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा खेलकुद तथा संस्कृति संरक्षणका लागि नगरपालिकाले जोड दिएको बताउनुभयो । नगरका सामाजिक संघसंस्थाहरुसंग सहकार्य गर्दै नगरको विकास र समृद्धिका लागि काम गरेको शर्माले बताउनुभयो । क्लबले गर्ने हरेक सकारात्मक र रचनात्मक कार्यमा सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा देविस्थानका वडा अध्यक्ष भोलानाथ भुसाल,फलेवास नगरका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिना,कार्यपालिका सदस्य निर्मला भुसाल, जनता माबिका प्रअ गोपाल प्रसाद श्रेष्ठ समाजसेवी राम पौडेल ,क्लबका सहसचिव तारा बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व भलिबल खेलाडीहरु नवीन श्रेष्ठ र किरण श्रेष्ठलाई सम्मान समेत गरिएको छ ।

३ दिनसम्म संचालन हुने कार्यक्रममा उद्घाटनका दिन ४० बर्ष माथिका पुरुषको भलिबल सम्पन्न भएको छ । भलिबल प्रतियोगितामा १६ टिमले भाग लिने भएका छन् । कार्यक्रममा लठ्ठो तान्ने,घैटो फुटाउने र नृत्य प्रतियोगिता समेत संचालन हुनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष बिक्रम कुवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक नवीन श्रेष्ठको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण विश्वकर्मा सृजना विश्वकर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles