पर्वत-विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतको कुश्मामा निर्मित सुपरमेन शैलीको जिपलाईन संचालन भएको छ ।
द हार्नेस प्रालिले साहिसक खेल सुपरम्यान शैलिको जिपलाइन व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको हो ।
उक्त जिपलाईनको शनिबार कुश्मा नगरपालिकाका प्रमुख एवं द हार्नेस प्रा.लिका प्रमुख संरक्षक रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जोशीले पछिल्लो समय पर्वत साहसिक पर्यटकका लागि हप बन्दै गइरहेको बताउँदै जिप लाईन सञ्चालन भए संगै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्र्याउन सफल हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा द हार्नेस प्रा.लिका अध्यक्ष विदुर पौडेलले पर्यटन प्रबद्धनका लागि जिप लाइन सञ्चालनमा ल्याएको बताउँनुभयो । विश्वकै दोस्रो लामो दाबी गरिएको जिप लाईन करिब १५ करोड लागतमा निर्माण गरिएको द हार्नेस प्रा.लिका सञ्चालक सुर्य क्षेत्रीले जानकारी दिनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको र पर्वतको जिपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नको लागि जिपलाइन महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कुश्मा नगरपालिकाका -५ चाक्लेको डिलदेखी कालीगण्डकीको खोच हुँदै साउनेबगर सम्म १ हजार ४ सय ८० मिटर लम्बाइ रहेको जिपलाइन करिब १ मिनेट ३० सेकेन्डमा पार गर्न सकिनेछ । साहासिक पर्यटकले प्रतिव्यक्ति ३५ सय तिरेर जिपलाईनको मज्जा लिन सक्नेछन् । त्यस्तै द हार्नेस प्रा.लिले जिपलाइन अवतरण हुने स्थान कालीगण्डकी किनारमा एडभेन्चर रिसोर्ट निर्माण गरिरहेको छ ।
बन्जी,साइकिलिङ तथा अग्ला र लामा झुलुङे पुलले परिचित कुश्मामा एक पछि अर्का आकर्षक गन्तव्य थपिदै गएका छन् । जिपलाइन संचालनमा आएपछि साहसिक आन्तरिक तथा बाहृय पर्यटकका लागि कुश्मा थप बढी पर्यटकीय हबको रुपमा विकास हुने भन्दै स्थानीय हर्षित भएका छन् ।