पर्वत -पर्वत सेवा समाज युएईको आयोजनामा कुश्मामा पारिवारिक भेटघाट तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजले पर्वतका विभिन्न ठाउँमा विपत्तिमा परेका तथा बाढी पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई राहत स्वरुप रु. ३ लाख ६० हजार हस्तान्तरण गरेको छ । गत भदौ १७ गते अबिरल बर्षाका कारण आएको पहिरोमा परि कूश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा ५ जनाको मृत्यु भएको परिवारका माधब पौडेललाई ५० हजार प्रदान गरिएको छ । त्यस्तै कुश्मा-११ सिल्मीका पहिरो पिडित मणि पौडेललाई ३० हजार,डम्बर बहादुर नेपालीलाई ३० हजार, पकुवाका हरि पौड्ललाई २० हजार, चित्रेका धनन्जय पौडेललाइ २० हजार,र अम्बोट्का राम बहादुर थापालाई १० हजार प्रदान गरिएको छ ।

त्यस्तै हुवासका अग्नी पिडितलाइ अन्तर्राष्ट्रिय पर्वत समाजको ५० हजार र पर्वत सेवा समाज यु. ए .ई .को तर्फबाट ५० हजार गरि १ लाख, दाल पोखरी प्राथामिक बिद्यालयमा स्कुल पोशक र ल्यापटप गरि १ लाख बराबरको समाग्री प्रदान गरिएको हो । कार्यक्रममा कूश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बिदेशमा दुख गरि कमाएको केही रकम आफ्नो मातृभुमिका दुखि पीडितका लागि सहयोग गर्नु अनुकरणीय काम भएको भन्दै प्रसंशा गर्दै पर्वत सेवा समाज युएईलाई धन्यवाद व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजका सस्थापक अध्यक्ष पुरन गिरीले पर्वत समाज यू ए इ ले स्मरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्तै रचनात्मक कार्यमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला अस्पताल पर्वतका निवर्तमान अध्यक्ष गोबिन्द पहाडी,अन्तर्राष्ट्रिय पर्वत समाजका संरक्षक सुबास जोशी लगायतले बोल्नु भएको थियो। संस्थाका अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आरसी पौडेलले गर्नुभएको थियो।

