पर्वत-हरेक बर्ष मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान पर्वतको फलेवास नगरपालिकामा पनि विधिवत रुपमा सुरु भएको छ । अभियानको पहिलो दिन हिजो पालिकामा हिंसा गर्दिन र हिंसा सहन्न भन्ने प्रतिबद्धतामा विभिन्न सरोकारवाला व्यक्तिहरुले हस्तान्तरण गरेका महिला तथा बालबालिका शाखा प्रमुख विष्णु चापागाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख तथा प्रवक्ता टिकाराम गौडेलले नगरपालिकाले अभियान अबधि र त्यो भन्दा अरु समयमा पनि हरेक प्रकारका हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । हिंसा गर्न नहुने र हिंसा सहन पनि नहुने भन्दै आफू सकारात्मक परिवर्तन भएर अरुलाई पनि हिंसा विरुद्ध लाग्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले महिला मात्र नभएर पुरुष तथा तेस्रोलिंगी पनि हिंसाको चपेटामा परेको बताउदै हिंसा विरुद्ध सबै लाग्नुपर्ने बताउनुभयो । खानीगाउँ प्रहरी चौकी इन्चार्ज अर्जुन पौडेलले कुनैपनि व्यक्ति जस्तोसुकै हिंसामा परेमा त्यस्ता घटना ढाकछोप नगरी प्रहरीमा उजुरी दिन आग्रह गर्नुभयो ।
लेखा अधिकृत यशोधा सुवेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख विष्णु चापागाईंले गर्नुभएको थियोे ।





