६ साउन २०८३, पर्वत- नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४औँ स्मृति दिवस तथा पर्वतका सामाजिक व्यक्तित्व टिकबहादुर प्रसाईंको १५औँ स्मृति दिवसका अवसरमा पर्वतमा रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ।
अमरटिका फाउन्डेसन नेपाल र विश्व प्रसाईं फाउन्डेसन नेपाल, पर्वतको संयुक्त आयोजनामा “विपीको परिकल्पना, नेपाली काँग्रेस : वर्तमान र भविष्य” विषयक रेडियो संवाद कार्यक्रम मंगलबार कुश्मामा सम्पन्न भएको हो।
कार्यक्रममा वक्ताहरूले विपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलापका सिद्धान्त आजको राजनीतिक परिवेशमा समेत उत्तिकै सान्दर्भिक रहेको बताएका थिए। उनीहरूले लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण गर्दै देशको समृद्धिका लागि राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव तथा नेष्डो नेपालका संस्थापक विश्वप्रकाश प्रसाईंले विपी कोइराला केवल एक राजनीतिक नेता नभई दूरदर्शी चिन्तक र लोकतन्त्रका अथक योद्धा भएको बताउनुभयो। विपीले देखाएको राजनीतिक मार्ग र समाजवादी चिन्तनलाई आत्मसात् गर्दै नेपाली काँग्रेसले वर्तमान चुनौतीहरूको सामना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आफ्ना बुबाको स्मृति दिवस विभिन्न कार्यक्रमका साथ पञ्चदिवसिय रुपमा मनाउने क्रममा पहिलो दिन रेडियो संवाद कार्यक्रम गरिएको र चारदिन अन्य सामाजिक कार्यहरू समेत गरिन लागेको प्रसाईले बताउनुभयो ।
त्यसैगरी नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीले विपी कोइरालाको योगदान कुनै एक दलमा सीमित नभई समग्र राष्ट्रका लागि प्रेरणाको स्रोत भएको उल्लेख गर्नुभयो। लोकतन्त्रको संस्थागत विकास, नागरिक अधिकारको संरक्षण र राष्ट्रिय एकताका लागि विपीका विचार आज पनि मार्गदर्शक रहेको उहाँको भनाइ थियो। फरक राजनीतिक विचार भए पनि राष्ट्र निर्माणका सवालमा सबै दलहरूबीच सहकार्य आवश्यक रहेको पहाडीले बताउनुभयो ।
वक्ताहरूले स्वर्गीय टिकबहादुर प्रसाईंले सामाजिक सेवा, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको स्मृतिले समाजसेवामा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेष्डो लघुबित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख अक्ष कुमार आचार्य, नेपाली कांग्रेस कुश्मा नगर सचिव आरसी पौडेल, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य मोहन आचार्य,पत्रकार प्रनिश गिरि र लक्ष्मण बिसि लगायतले बोल्नुभएको थियोे ।
वि.सं. २०३९ साल साउन ६ गते निधन भएका विपी कोइरालाले नेपालमा प्रजातन्त्रको स्थापना, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको विकासका लागि आजीवन सङ्घर्ष गरेका थिए। उनको स्मृतिमा हरेक वर्ष साउन ६ गते विभिन्न कार्यक्रम आयोजना गरी विपी स्मृति दिवस मनाउने गरिन्छ।
अमरटिका फाउन्डेसन नेपाल र विश्व प्रसाईं फाउन्डेसन नेपालका अध्यक्ष विश्व प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रेडियो समृद्ध नेपालका स्टेशन म्यानेजर उत्तम अधिकारीले गर्नुभएको थियोे ।

