काठमाडौं २१ असोज । आगामी वर्ष कतारमा हुने फिफा विश्वकपमा दक्षिण कोरियाले सिरियामाथि जित निकालेको छ । बिहीबार भएको एसियन छनोटको खेलमा कोरियाले सिरियामागि २–१ गोलको जित निकालेको हो ।
घरेलु मैदानमा कोरियालाई जिताउन ह्वाङ इन–बिओम र सन हिउङ मीनले एक–एक गोल गरे । सिरियाका ओमार खरिबिनले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा बिओमले गोल गर्दै कोरियालाई सुरुआती अग्रता दिलाएका थिए ।
८४औँ मिनेटमा खरिबिनले गोल गर्दै सिरियालाई बराबरीमा फर्काए । तर निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा सनले गोल गर्दै कोरियालाई जिताए । जितसँगै कोरियाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहेको उसले तीन खेलमा सात अङ्क जोडेको छ । सिरिया भने एक अङ्कसहित सो समूहको पुछारमा छ ।

